
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले निर्वाचनपछिको चुनौती सामना गर्न गठबन्धन दलहरु तयार हुनुपर्ने बताउनुभएको छ ।
आज काठमाडौंमा काभ्रे–काठमाडौं ४ समन्वय समितिले आयोजना गरेको कार्यक्रममा थापाले मंसिर ४ को निर्वाचनमा गठबन्धनले जित्ने भन्दै त्यसपछिको चुनौति सामना गर्न दलहरु तयार हुनुपर्ने बताउनुभएको हो ।
उहाँले देशमा देखिएका आर्थिकलगायतका समस्या समाधान गर्न निर्वाचन पछि बन्ने सरकार गम्भीर भएर लाग्नुपर्ने चुनौति रहेको जिकिर गर्नुभयो।
आम नागरिकमा देखिएको निरासालाई पनि गठबन्धनले निर्वाचन जितेपछि दृढ संकल्पका साथ हटाउनुपर्ने उहाँको भनाइ छ । महामन्त्री थापाले पाँच वर्षका लागि गठबन्धनसँगै बसेर मत मागेकाले आगामी पाँच वर्ष जनताको मतको इज्जत राख्नुपर्ने धारणा राख्नुभयो।
उहाँले जनताले दिएको जिम्मेवारीबाट असफल भए त्यसको मूल्य देशले चुकाउनुपर्ने भएकाले इमान्दारीपूर्वक काम गर्नुपर्ने बताउनुभयो । महामन्त्री थापाले नागरिकहरुले राजनीतिक नेतृत्व परिवर्तन खोजिरहेको भन्दै कांग्रेसको नेतृत्व परिवर्तन गरि मुलुक चलाउनका लागि आफ्नो पक्षमा मत माग्न आग्रह गर्नुभयो।
उहाँले घरदैलोका क्रममा जनताका विभिन्न प्रश्न रहेको भन्दै आफू प्रश्नको सामना गरेर जनताको समस्या बुझ्ने जिकिर गर्नुभयो।