कर्णालीलाई १ सय ४० रनले हराउँदै आर्मी सेमिफाइनलमा

काठमाडौं । रोहित पौडेलको ३ विकेटप्रेरित त्रिभुवन आर्मी क्लब कर्णाली प्रदेशलाई १ सय ४० रनले पराजित गर्दै प्रधानमन्त्री कप राष्ट्रिय पुरुष एकदिवसीय क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ।

आज मुलपानी क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको आर्मीले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर २ सय ५४ रनको योगफल तयार गरेको थियो।

दोस्रो इनिङमा आर्मीको कसिलो बलिङसामु टिक्न नसकेको कर्णालीले २८.३ ओभरमा सबे विकेट गुमाउनुअघि एक सय १४ रन मात्रै बनाउन सक्यो।

कर्णालीका लागि विपिन रावलले ६२ बलमा ६ चौकासहित ४८ रनबाहेक अन्य कुनै ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। बलिङतर्फ आर्मीका लागि ४ ओभरमा १५ रन खर्चिएका रोहितले सर्वाधिक ३ विकेट लिनुभयो।

यस्तै, साहब आलम र हरि चौहानले समान २–२ विकेट लिनुभएको थियो। जितेन्द्र मुखिया र सुशन भारीको नाममा १–१ विकेट रह्यो।

पहिलो इनिङमा क्रिजमा उत्रिएको आर्मीका लागि अविजित रहँदै कप्तान विनोद भण्डारीले ३७ र राजेश पुलामीले २८ रन बनाउनुभएको थियो। त्यसअघि कुशल मल्ल र रोहित पौडेल ३५ रन बनाएर पेभेलियन फर्कीनुभएको थियो ।

यस्तै, हरी चौहानले १७ तथा अर्जुन साउदले २० रनको योगदान गर्नुभयो। कर्णालीका लागि प्रकाश जैसीले १० ओभरमा ६३ रन अर्चेर सर्वाधिक ३ विकेट लिनुभएको थियो। यस्तै, दीपेन्द्र रावतले २ तथा दिनेश अधिकारीले १ विकेट लिनुभयो।

कर्णालीविरुद्धको जितसँगै आर्मीले समूह ‘ए’को उपविजेताको हैसियतमा अन्तिम ४ मा स्थान बनाएको छ। फाइनल प्रवेशका लागि आर्मीले समूह ‘बी’को विजेता नेपाल पुलिससँग खेल्नेछ।

समूह ‘ए’को विजेता एपीएफले समूह ‘बी’को उपविजेता मधेश प्रदेशसँग खेल्ने छ।

Back to top button