मंसिर ४ गते देशले सरप्राइज पाउँछ : रवि लामिछाने

हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले आसन्न मंसिर ४ गते देशले ‘सरप्राइज’ पाउने बताउनुभएको छ ।

आज हेटौंडामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले मंसिर ४ गते हुने निर्वाचनले नपत्याउँदो नतिजा दिएर देशलाई नै सरप्राइज दिने दाबी गर्नुभएको हो ।

आफ्नो पार्टीको लागि भोट माग्दै उहाँले भन्नुभयो‚ ‘मैले सुनेको छु देशले यो पटक सरप्राइज कुरिरहेको छ रे? काठमाडौं र धरानबाट त्यो सरप्राइज शुरु भइसकेको छ। चितवनबाट म सरप्राइज दिन्छु, मकवानपुरबाट तपाईंहरूले एउटा आवाज निकाल्नुहोला। त्यो आवाज घण्टीको हुनेछ।’

उहाँले मतदातालाई भ्रमित बनाउने काम गर्नेलाई नाङ्गेझार पार्ने चेतावनी दिनुभएको छ । ‘कैयौं नेताहरूले भोट हाल्ने ठाउँमा सिसी क्यामेरा राखेका हुन्छौं‚ हामीलाई भोट हाले नहालेको थाहा हुन्छ भन्दै जनतालाई तर्साउने काम गरेको सुनेको छु‚’ उहाँले भन्नुभयो‚ ‘यस्तो झुटो गरेर मतदातालाई झुक्याउनेलाई नाङ्गेझार पार्न नपरोस्।’

उहाँले पत्रकारिताबाट आफूले धेरै चेलीबेटी र युवाहरूलाई विदेशबाट उद्धार गरेर ल्याएको भन्दै विदेश नै जान नपर्ने नीति बनाउन राजनीतिमा आएको दाबी गर्नुभयो।

उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीको नेतृत्वमा सरकार बने युवाहरू रोजगारीमा विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्ने दाबीसमेत गर्नुभयो। उहाँले आफू सधैं जनताको घरदैलो र चोक चौतारामा भेटिने भन्दै आफ्नो पार्टीलाई जिताउन आग्रह गर्नुभयो।

अध्यक्ष लामिछानेले भन्नुभयो‚ ‘चिनी नहालेको कालो चिया पकाएर राख्नुहोस्, म कुनै पनि वेला तपाईंहरूका घरमा आउन सक्छु।’

Back to top button