
विराटनगर । प्रदेश १ का वन, वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधन भएको छ।
नेपाली कांग्रेसका पुराना नेता थापा आसन्न निर्वाचनका लागि मोरङ क्षेत्र नम्बर ३ ‘क’बाट प्रदेशसभा सदस्यका प्रत्यक्षतर्फको उम्मेदवारसमेत हुनुहुन्थ्यो । उहाँ कांग्रेसको प्रदेश १ को सदस्य हुनुहुन्थ्यो । १ महिनादेखि उपचाररत थापाको विराटनगरको नोबेल शिक्षण अस्पतालमा आज बिहान १०ः४० बजेतिर निधन भएको हो।
५८ वर्षीय थापा मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा हो। काठमाडौंको पेप्सिकोलामा पनि उहाँको घर छ। गत असोज २३ गते मनोनयन दर्ता गरेपछि उहाँको स्वास्थ्यमा समस्या देखिएको थियो। उपचारका लागि भोलिपल्ट नोबेलमा भर्ना गरेर परीक्षण गराउँदा डेंगुको संक्रमण पुष्टि भयो।
लगत्तै गम्भीर प्रकारको निमोनिया र पायल्ससमेत देखिएर स्वास्थ्य अवस्था नाजुक बनेसँगै असोज २७ गते थप उपचारका लागि हेलिकप्टरमार्फत काठमाडौं लगियो। काठमाडौंको ह्याम्स अस्पतालमा उपचार गराएर २५ दिनपछि उहाँलाई विराटनगर ल्याइएको हो। काठमाडौंमा उपचार पश्चात स्वास्थ्य अवस्था ठीक बन्दै गएको भनेर आफन्तले विराटनगर ल्याएका थिए।
श्वासप्रश्वासमा समस्या भएर स्वास्थ्य अवस्था जटिल बनेपछि गत सोमबार पुनः नोबेलमा भर्ना गरिएको थियो। मंसिर ४ गतेको निर्वाचनका लागि उम्मेदवार र कार्यकर्ता चुनावी घरदैलो अभियानमा व्यस्त हुँदा थापा भने बिरामले थलिएर उपचाररत हुनुहुन्थ्यो।
नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालले उपचाररत अवस्थामै थापाको निधन भएको पुष्टि गर्नुभयो। उहाँको अनुसार स्वास्थ्य अत्यन्तै कमजोर भएका कारण निरन्तर अक्सिजन दिएर थापाको उपचार सुरु गरिएको थियो।
पूर्वप्रधानमन्त्री स्वः गिरिजाप्रसाद कोइरालाको ८ वर्ष निजी सचिव भएर काम गर्नुभएका थापा २०७४ सालमा समानुपातिक सांसद निर्वाचित हुनुभएको थियो। यस पटक उहाँलाई पार्टीले प्रत्यक्षतर्फको टिकट दिएको थियो। थापाका श्रीमती, १ छोरा र १ छोरी हुनुहुन्छ। शवको अन्त्येष्टि कहाँ गर्ने भन्ने टुंगो लाग्न बाँकी रहेको पारिवारिक स्रोतले बतायो।
थापाको निधन भएपछि त्यो क्षेत्रमा कांग्रेसको उम्मेदवारका विषयमा निर्वाचन आयोगले निर्णय गर्ने बताइएको छ।
निर्वाचन अधिकृतको कार्यालयले निधनका विषयमा निर्वाचन आयोगलाई जानकारी गराएपछि आयोगले अरु गतिविधि स्थगित गरी कार्यतालिका बनाएर मनोनयन लगायतका प्रक्रिया अघि बढाउने प्रदेश १ निर्वाचन कार्यालयका प्रमुख लेवन काश्यप अधिकारीले जानकारी दिनुभयो। उहाँको अनुसार नयाँ उम्मेदवारीको विषय निधन भएका उम्मेदवारको दलका हकमा मात्रै लागू हुनेछ।