शेखरचन्द्र थापाको योगदान स्मरणीय रहनेछ : प्रधानमन्त्री देउवा

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कांग्रेस नेता तथा प्रदेश १ का वन वातावरण तथा भू–संरक्षण मन्त्री शेखरचन्द्र थापाको निधनप्रति दुःख व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री देउवाले आज शोक वक्तव्य जारी गर्दै मोरङ ३ (१) का उम्मेदवार थापाले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याएको योगदान पार्टीमा सदा स्मरणीय रहने बताउनुभएको छ । थापाको निधनको खबरले आफूलाई स्तब्ध र दुःखीत बनाएको उहाँले बताउनुभएको छ ।

कांग्रेसका कार्यवाहक मुख्य सचिव डा. प्रदीप पराजुलीले जारी गरेको शोक वक्तव्यमा भनिएको छ,‘प्रदेश नं. १ का मन्त्री, निवर्तनमान प्रदेशसभा सदस्य, एवं मोरङ ३ (१) का प्रदेशसभा सदस्य उम्मेदवार शेखरचन्द्र थापाको निधनको खबरले मलाई स्तब्ध र दुःखीत बनाएको छ। स्वर्गीय थापाले पार्टी र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा पुर्‍याउनु भएको सक्रिय योगदान पार्टीमा सदा स्मरणीय रहनेछ।’

मन्त्री तथा मोरङ क्षेत्र नं. ३ (१) का नेपाली कांग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार थापाको आज बिहान निधन भएको हो। थापाको निधन भएपछि मोरङको प्रदेशसभामा कांग्रेसबाट उम्मेदवारी दर्ताका लागि निर्वाचन अधिकृतको कार्यालयले प्रक्रिया अघि बढाएको जनाएको छ।

थापालाई स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि विराटनगरको नोबेल शिक्षण अस्पताल भर्ना गरिएको थियो। परीक्षण गराउँदा डेंगुको संक्रमण पुष्टि भएको थियो।

उहाँको उपचारकै क्रममा आज बिहान १०ः४० बजेतिर निधन भएको अस्पतालले जनाएको छ। ५८ वर्षीय थापा मोरङको पथरीशनिश्चरे नगरपालिका–८ सखराका बासिन्दा हो। उहाँको श्रीमती, १ छोरा र १ छोरी हुनुहुन्छ।

Back to top button