
दार्चुला । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई पुनः प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनुभएको छ ।
आज दार्चुलामा सत्ता गठबन्धनको चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले एमाले अध्यक्ष ओलीलाई आफैले प्रधानमन्त्री बनाएको दावी गर्नुभयो। ओलीले संविधान विपरित प्रतिनिधिसभा विघटन गरेर प्रतिगमन गरेको प्रचण्डको आरोप छ।
उहाँले तत्कालीन समयमा ओलीले एकपटक आफूलाई प्रधानमन्त्री बनाइदिनुस् भनेकाले आफूले सहयोग गरेर दोस्रो पटक पनि प्रधानमन्त्री बनाएको भन्दै पुनः प्रधानमन्त्री बनेर देखाउन चुनौती दिनुभयो । उहाँले भन्नुभयो, ‘तेस्रो पटक प्रधानमन्त्री बनेर देखाउनुस् ।’
अध्यक्ष प्रचण्डले ओलीले आफूले लिम्पियाधुरा लिपुलेक समेटेर बनाएको नक्सा पनि ओलीले बाध्य भएर मात्रै बनाएको बताउनुभयो । ‘ओलीले नक्साको कुरा गर्नुहुन्छ । केपी ओलीले होइन यो नक्सा बनाएको। भ्रममा नपर्नुहोला । नेकपामा मसहित भएर पार्टीको बहुमतले बाध्य बनाएपछि मात्रै बनाएको हो,’ प्रचण्डले भन्नुभयो।