हामीलाई जिताउनुहोस्, हामी जनताको जीवनस्तर उकास्ने काम गर्छौंः विनोद ढकाल

विराटनगर । नेकपा एमालेका नेता तथा मोरङ क्षेत्र नम्बर– ४ का प्रतिनिधिसभा सदस्यको उम्मेदवार विनोद ढकालले क्षेत्रका जनतासँग नेकपा एमालेलाई जिताउन आग्रह गर्नुभएको छ ।

उहाँले निर्वाचन क्षेत्रका विभिन्न स्थानमा आयोजित कोणसभालाई सम्बोधन गर्दै नेकपा एमालेलाई निर्वाचन जिताए समग्र जनताको जीवनस्तर उकास्न काम गर्ने बताउनुभयो ।

उहाँले देशमा समृद्धि र विकास गर्नुछ भने एउटा दलको स्थायी सरकार नै चाहिन्छ भन्ने पुष्टि भइसकेको तर्क गर्नुभएको छ । अस्थिर सरकारको परिणती नेपाली जनताले बर्षौदेखि झेल्दै आइरहेको भन्दै उहाँले ६ महिना, वर्षदिनमा सरकार परिवर्तन हुँदा देशमा समृद्दि र विकास असम्भव रहेको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘ केपी ओली नेतृत्वको सरकार बनेसँगै कोरेका विकास र समृद्धिको खाकाहरु अहिले कहाँ छन् ? विकास निर्माणका काम कहाँ रोकिएका छन्? देशको आर्थिक अवस्था किन यति जर्जर ? भन्ने कुरा आम जनताले पनि बुझेको कुरा हो ।’

त्यसैले देश र जनताको हितका लागि एउटा दलको बहुमत आवश्यक छ भन्दै ढकालले भन्नुभयो,‘ अहिले मत दिँदा पनि एउटा मात्रै दलले सरकार बनाउन सक्ने अवस्थामा गठबन्धनका कुनै दल छैनन् । बहुमतका साथ सरकार बनाउन सक्ने दलको रुपमा नेकपा एमाले मात्रै छ, त्यसैले एमालेलाई भोट हाल्नुस, स्थायी सरकार बनाऔं, समृद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाऔं ।’

उहाँले अघि भन्नुभयो,‘ फेरी पनि बहुमतसहितको नेकपा एमाले नेतृत्वको सरकार बन्न नसके मुलुकमा आलोपालो सरकार चलाउने र भाग पुर्‍याउने नाममा सरकार फेरिरहन्छ, फेरिरहन्छ । उहाँले हिजो व्यवस्था परिवर्तनको लागि राजनीतिक दलहरुले लडेको र त्यसको नेतृत्व नेकपा एमालेले गरेको स्मरण गराउँदै अहिले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आएको र जनतालाई अधिकार सम्पन्न बनाउने काम भएको बताउनुभयो ।

उहाँले भन्नुभयो,‘अब राजनीतिक लडाईं हैन, विकास र समृद्धिको लडाईंमा जुट्नुपर्छ । त्यसका लागि दृढ इच्छाशक्ति, सामर्थ्य, भिजन तथा देश र जनतामा समर्पित हुनुपर्छ । यदि त्यो कसैमा छ भने नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमा छ, त्यो नेकपा एमालेमा छ ।’

भावी प्रधानमन्त्रीका रुपमा अध्यक्ष ओलीलाई अघि सारेर एमाले चुनावी मैदानमा रहेको भन्दै उहाँले सृमद्ध नेपाल, सुखी नेपालीको अभियानलाई सार्थक बनाउन जनताले मत दिए अरु कसैले रोक्न नसक्ने बताउनुभयो ।

यस्तै मोरङ क्षेत्र नम्बर ४ का उम्मेदवार ढकालले जनताको सुझावलाई आत्मसाथ गर्दै क्षेत्रका जनताको हितका लागि सदैव काँधमा काँध र हातमा हात मिलाएर साथसाथै अघि बढ्ने बताउनुभएको छ ।

उहाँले क्षेत्रका आम समस्याका विषयमा आफु जानकार रहेको भन्दै सबैभन्दा बढी यहाँको कृषीलाई व्यवसायीक बनाउन विभिन्न काम गर्नुपर्ने बताउनुभयो । यस्तै लोहन्दा खोलाको कटान रोक्न तटबन्ध निर्माण तथा मुख्य शहरहरु जोड्ने सडकको स्तरोन्नती र कालोपत्रे तथा ग्रामिण सडकहरुको स्तरोन्नती गर्नसक्दा यहाँको जीवनस्तर उकास्न सहयोग पुग्ने बताउनुभयो ।

यस्तै यहाँका आदीबासी जनजातीको बसोबास रहेको क्षेत्रमा होम स्टेलाई प्रवर्धन गर्दै आन्तरिक तथा बाह्य पर्यटकको गन्तव्य बनाउने, विभिन्न जातजातीको संग्राहलय बनाउनेलगायतका तमाम कामहरुलाई आफूले प्राथमिकतामा राखेको बताउनुभयो ।

ढकालले यस क्षेत्रका युवाहरुलाई स्वरोजगार र रोजगार प्रदान गर्न विभिन्न कार्यक्रम ल्याउन आवश्यक रहेको तथा यहाँका कुनैपनि बालिबालिका शिक्षाबाट बञ्चित हुन नदिने तथा स्वास्थ्य सेवाको ज्ञारेन्टी गर्नेसम्मका बिषयलाई आफु र आफ्नो पार्टीले घोषणापत्र मार्फत पनि सम्बोधन गरेको बताउनुभयो ।

Back to top button