
विराटनगर । मोरङको क्षेत्र नं. ६ (१) की नेकपा (एमाले)की प्रदेशसभा सदस्य उम्मेदवार रीता न्यौपानेप्रति जनलहर बढ्दै गएको छ । मतदाता पहुँचको राजनीति गर्नेभन्दा स्थानीय ठाउँमा रहेर काम गर्ने र राजनीति गर्ने उम्मेदवारलाई जिताउन चाहन्छन् ।
एमालेकी उम्मेद्वार बुढीगंगा गाउँपालिकाकी स्थानीयबासी र लामो समयदेखि सोही क्षेत्रमा सामाजिक, राजनीतिक तथा व्यावसायिक शिक्षाका क्षेत्रमा काम गर्दै आएकाले पनि उहाँप्रतिको जनलहर बढेको बुढीगंगा कांग्रेसका एक युवा नेताले बताउनुभयो ।
‘महिला मात्र हैन्, उहाँसँग क्षमता छ, काम गर्ने इच्छाशक्ति छ’, उहाँले भन्नुभयो, ‘भूगोलको राजनीति गर्नुभएको छ, स्थानीयको समस्या बुझ्नुभएको छ, त्यसले उहाँलाई चुनाव जित्न सहज छ ।’
पहुँचको भरमा राजनीति गरेको व्यक्तिले जनताको समस्या नबुझ्ने उहाँको भनाइ छ । ‘पहिला एमाले माओवादी गठबन्धन हुँदा आचार्यले चुनाव हार्नुभएको हो, अहिले पनि उहाँप्रति मतदाताको उत्साह छैन, उहाँले भन्नुभयो ।
आफ्नो पार्टीको उम्मेदवार नहुँदा मतदाताले व्यक्ति रोजेर भोट हाल्ने र अहिले पार्टीले भनेको मान्नुपर्ने अवस्था नभएको पनि उहाँले बताउनुभयो । आचार्यभन्दा न्यौपाने सबै हिसाबले योग्य उम्मेदवार भएका कारण क्षेत्र नं. ६ (१) का मतदाताले न्यौपानेलाई जिताउने उहाँको विश्वास छ ।
क्षेत्र नं. ६ को प्रतिनिधिसभामा नेकपा एमालेका लालबाबु पण्डित र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांगे्रसका डा. शेखर कोइराला प्रतिस्पर्धामा हुनुहुन्छ । प्रदेशसभा ६(२) मा एमालेका पर्शुराम बस्नेत र सत्ता गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका केदार कार्की प्रतिस्पर्धामा हुनुहन्छ ।
क्षेत्र नं. ६ (१) मा भने एमालेकी न्यौपानेसँग सत्ता गठबन्धनका तर्फबाट नेकपा माओवादी जीवन आचार्यले चुनावी प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । आचार्य माओवादी अध्यक्ष प्रचण्डका ज्वाईं हुनुहुन्छ ।
पहुँचको भरमा उम्मेदवार बन्नुभएका आचार्य कांग्रेसी मतदातालाई फकाउन आफूले नेविसंघदेखि राजनीति गर्दै आएको बताउन थाल्नुभएको छ ।
उहाँले आफूलाई माओवादीमात्र नबुझिदिन आग्रह गर्दै नेविसंघमा दिएको योगदानलाई सम्झेर भोट दिन मतदातामाझ आग्रह गर्न थाल्नुभएको हो । २०७४ सालको निर्वाचनमा आचार्य नेपाली कांग्रेसका उम्मेदवार चुमनारायण तबदारसँग पराजित हुनुभएको थियो ।
तबदारले २३ हजार ५१३ मत ल्याउँदा आचार्यले २१ हजार ४७० मत ल्याउनुभएको थियो । यो क्षेत्रको प्रदेशसभा स्वतन्त्रसहित १३ जनाको उम्मेदवारी परेको छ । यो निर्वाचन क्षेत्रमा थारु समुदायको बाहुल्यता रहेको छ ।
६ (१) मा विराटनगर महानगरपालिकाको वडा नं. ४, बुढीगंगा गाउँपालिकाको १ देखि ७ सम्म र सुन्दरहरैंचा नगरपालिकाको २ देखि ७ नम्बर वडा पर्दछ ।