
विर्तामोड । आसन्न मंसिर ४ गते हुने निर्वाचनमा झापा कारागारमा रहेका कैदीबन्दीमध्ये १४८ जनाले मतदान गर्न पाउने भएका छन् । कारागारमा १ हजार ४२७ जना कैदीबन्दी रहेका जनाइएको छ।
मतदाता नामावलीमा नाम भएका कैदीबन्दीले मात्र प्रतिनिधिसभा सदस्यको समानुपातिकतर्फ मतदान गर्न पाउने निर्वाचन कार्यालय झापाले जनाएको छ ।
कार्यालयका प्रमुख तुलसीप्रसाद नेपालले कारागार परिसरभित्रै अस्थायी मतदान केन्द्र स्थापना गरेर उनीहरुलाई मतदानको व्यवस्था गरिने बताउनुभयो । उहाँले भन्नुभयो, “कैदीबन्दी धेरै भए पनि मतदाता नामावलीमा १४८ जनाको नाम छ । नाम भएकाले मात्र मतदान गर्न पाउनुहुन्छ ।”
कारागारमा हाल १ हजार २४५ पुरुष, ७१ जना महिला र २ जना बालबालिका कैदीबन्दी रहेको जिल्ला कारागार झापाले जनाएको छ । जसमध्ये १ हजार ३३५ नेपाली र ११० जना विदेशी रहेका छन्।
जिल्लामा ७६६ स्थायी र दुई वटा अस्थायी मतदान केन्द्र रहेका छन् । जिल्लाका मतदान केन्द्रमा मतदान अधिकृत र सहायक मतदात अधिकृत गरी १ हजार ५३६ जना निर्वाचनमा खटाइने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।