
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपाको एकता तोडेको आरोप लगाउनुभएको छ ।
आज झापा क्षेत्र नम्बर–४ शिवगन्जमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उहाँले एकै ठाँउमा बस्न नसक्ने प्रचण्डको चूलबुले बानीका कारण नेकपाको एकता तोडेको आरोप लगाउनुभएको हो ।
पार्टी एकीकरण गरिसकेपछि एकतवद्ध पार्टीमा बसेर देश बनाउनुपर्नेमा केही कार्यकर्तालाई प्रचण्डले अल्मलाएर आफैंसँग लगेको उहाँको भनाइ छ। उहाँले माओवादीका केही नेताहरूले पार्टीलाई पारिवारिक चंगोल बनाएको तर्क गर्नुभयो।
अध्यक्ष ओलीले एमालेको देश बनाउने बाहेक अन्य कुनै स्वार्थ नभएको भन्दै गठबन्धन छाडेर एमालेमा आउन कांग्रेस र माओवादीका नेता कार्यकर्तालाई आग्रह गर्नुभयो।
यस्तै, ओलीले एमालेले अघि बढाएको विकासको अभियानलाई अघि बढाउन आगामी निर्वाचनमा जित्नै पर्ने र पाँच वर्ष देश बनाएरै छाड्ने जिकिर गर्नुभयो।
अध्यक्ष ओलीले नेपाल जस्तो देश गरिबी हुनुपर्ने कुनै कारण नै नरहेकाले एमाले सरकारले समृद्ध बनाउने दावी गर्नुभएको छ । यसपटकको निर्वाचनमा केही सिटमा राप्रपासँग भएको तालमेलको सहमतिलाई कार्यान्वयन गर्ने उहाँले बताउनुभयो।