मोरङमा १८७ कैदीबन्दीले मतदान गर्न पाउने

विराटनगर । आसन्न मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मोरङ जिल्ला कारागारमा रहेका १८७ जना कैदीबन्दीले मतदान गर्न पाउने भएका छन् ।

प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख लेवन काश्यप अधिकारीका अनुसार मोरङ कारागारमा रहेका १८७ जना कैदीबन्दीले समानुपातिक निर्वाचन प्रणालीतर्फ मतदान गर्न पाउने भएका हुन् । मोरङ कारागारमा ९ सयबढी कैदी छन् । तीमध्ये अन्तिम मतदाता नामावलीमा नाम भएकाहरुले मतदान गर्न पाउने भएका हुन् ।

कारागारमा भएका कैदीहरुका लागि कारागारभित्रै अस्थायी मतदानस्थलको व्यवस्था मिलाएको निर्वाचन प्रमुख अधिकारीले बताउनुभयो ।

‘मोरङ कारागारमा ९ सयबढी कैदीहरु भए पनि १८७ जनामात्रै मतदान गर्न योग्य देखिएका छन्’, अधिकारीले भन्नुभयो, ‘कैदीहरुको सहजताका लागि हामीले अस्थायी मतदानस्थल तोकेर त्यहीँ मतदानको व्यवस्था मिलाएका छौँ ।’

अदालतको आदेशपछि निर्वाचन आयोगले २०७९ असार १ गतेदेखि २०७९ साउन १९ गते सङ्कलन तथा अद्यावाधिक गरेको विवरणका आधार समानुपातिक निर्वाचन प्रणालीतर्फ कैदीबन्दीले मतदान दिन पाउने प्रदेश निर्वाचन प्रमुख अधिकारीले बताउनुभयो ।

यस्तै, ६ संघीय र १२ प्रदेश निर्वाचन क्षेत्र रहेको मोरङमा ७ लाख ३५ हजार ५२५ मतदाता रहेका छन् । जिल्लामा ३0६ मतदान स्थल र ८३९ मतदान केन्द्र छन् ।

Back to top button