
काठमाडौं । बंगलादेशको ढाका भइरहेको साफ यू–१५ महिला च्याम्पियनसिपमा आज नेपालले घरेलु टोली बंगलादेशसँग अन्तिम खेल खेल्दैछ । बीएसएसएसएमके स्टेडियममा हुने उक्त खेल खेल्न मैदान उत्रँदा नेपालको राष्ट्रिय यू–१५ महिला टिमसामु ऐतिहासिक उपाधि जित्ने अवसर छ ।
नेपालको सिनियर महिला टोलीले समेत अहिलेसम्म अन्तर्राष्ट्रिय उपाधि जित्न सकेको छैन । जुनियर टिमहरु पनि बारम्बार चुक्दै आएका छन् । नेपालले बंगलादेशसँग खेल्दा उपाधि जित्ने लक्ष्य राखेको छ । समिकरण पनि स्पष्ट छ । बंगलादेशलाई हराएर वा बराबरी गरे मात्र पनि नेपालले उपाधि जित्नेछ । बंगलादेशले जित निकालेमा भने नेपाल उपविजेता हुनेछ ।
नेपाल, बंगलादेश र भुटान गरी तीन टिम मात्र सम्मिलित यो प्रतियोगिता डबल राउण्ड रोविन लिगको आधारमा खेलाइएको छ । भुटान आफ्नो चारवटै खेलमा पराजित हुँदै अंकविहीन भएर घर फर्किसकेको छ ।
नेपाल खेलेको तीनवटै खेल जित्दै ९ अंक जोडेर शीर्ष स्थानमा छ । नेपालले भुटानलाई ७–०, बंगलादेशलाई १–० र भुटानलाई १–० ले पराजित गरेको थियो । उता बंगलादेशको २ जित र १ हारबाट ६ अंक छ । भुटानलाई ८–० र ९–० ले पराजित गरेको बंगलादेश नेपालसँग भने पराजित भएको थियो । नेपालको गोल अन्तर ९ छ भने बंगलादेशको गोल अन्तर १६ छ ।
त्यसैले नेपालले बंगलादेशसँग हार जसरी भए पनि टार्नुपर्छ । च्याम्पियनसिपमा यअसघि खेलेको खेलमा नेपालले वर्षा ओलीको एक मात्र गोलमा बंगलादेशलाई पराजित गरेको थियो । प्रतियोगितामा बंगलादेशका सौरभवी अकान्डा प्रितीले दुई ह्याट्रिकसहित सर्वाधिक ९ गोल गरिसक्नुभएको छ ।
नेपालको वर्षा ओलीले एक ह्याट्रिकसहित ५ गोल गरेर दोस्रो स्थानमा हुनुहुन्छ । सुक्रिया मिया र सेनु परियारले समान २ गोल गर्नुभएको छ । साफ यू–१५ महिला च्याम्पियनसिपमा नेपाल पहिलो पटक उपाधि नजिक छ ।
यसअघि २०१९ मा बंगलादेशमै भएको तेस्रो संस्करणमा नेपाल तेस्रो भएको थियो र त्यो नै नेपालको अहिलेसम्मको उत्कृष्ट नतिजा हो । अहिलेसम्म भएका ३ संस्करणमध्ये बंगलादेशले २ र भारतले १ पटक उपाधि जितेको छ ।