संविधानको रक्षा र मुलुकको विकासका लागि गठबन्धन आवश्यक छ : बाबुराम भट्टराई

काठमाडौं । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धन आवश्यक रहेको बताउनुभएको छ ।

काठमाडौं क्षेत्र नं–१ को घरदैलो अभियानमा सहभागी नेता भट्टराईले संविधानको रक्षा र देश विकासका लागि गठबन्धनका उम्मेदवार जिताउनुपर्नेमा जोड दिनुभयो।

नेता भट्टराईले काठमाडौं –१ का प्रतिनिधिसभाका गठबन्धनका उम्मेदवार प्रकाशमान सिंहलाई भोट माग्नुभएको छ ।

भोट माग्ने क्रममा भट्टराईले प्रकाशमान योग्य र स्वच्छ छविको व्यक्ति भएको भन्दै मत दिन आग्रह गर्नुभएको थियो।
‘देश विकासका लागि सही र सक्षम नेता गठबन्धनभित्र हुनुहुन्छ, संविधान र मुलुकको विकासका लागि काठमाडौंका जनताले गठबन्धनका उम्मेदवारलाई विजयी गराउने विश्वास मैले लिएको छु,’ उहाँले भन्नुभयो।

डा.भट्टराईले नेपाली जनताको लामो संघर्ष र बलिदानबाट ल्याएको संघीय लोकतान्त्रिक गणतन्त्र र संविधानमाथि नै प्रहार भएकाले गठबन्धन निर्माण गर्नुपरेको बताउनुभयो। गठबन्धनलाई बलियो बनाए मात्र संविधानको रक्षा, सुशासन र राजनीतिक स्थिरता हुनसक्ने उहाँको भनाइ छ ।

काठमाडौं क्षेत्र नं १ मा लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा कांग्रेसका पूर्वमहामन्त्री एवं पूर्वउपप्रधानमन्त्री प्रकाशमान सिंह उम्मेदवार हुनुहुन्छ।

Back to top button