
सुनसरी । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तारुढ दलहरूसँग निर्वाचनमा आफ्नो पार्टीसँग एक्ला–एक्लै भिड्ने हिम्मत नै नभएको दाबी गर्नुभएको छ ।
आसन्न मंसीर ४ गते हुने प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा एमालेसँग एक्लै लड्ने आँट कांग्रेससँग पनि नभएको बताउँदै उहाँले एक्लै लड्न चुनौती दिनुभएको हो । अध्यक्ष ओलीले भन्नुभयो, ‘हामीसँग चुनाव लड्न आउ एक्ला–एक्लै लडौं ।’
सुनसरीको धरानमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमाले सिध्याउन भन्दै विरोधीहरुले अनेक प्रयास गरेपनि असफल भएको बताउनुभयो । विरोधीहरुले एमालेमाथि प्रहार गरेर वामपन्थी आन्दोलनलाई कमजोर पार्ने प्रयास गरेका उहाँको भनाइ छ ।
अध्यक्ष ओलीले एमालेलाई सिध्याउँछौं भनेर विरोधीहरुले सार्वजनिक उद्घोष गरेपनि जनताको पार्टीलाई ढगमगाउन नसकेका बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘कसैले एमालेलाई भित्तामा टाँस्दिन्छौं भने, कसैले धुलोमा मिलाइदिन्छौं भने, एमाले सिध्यायौं भन्ने दम्भ देखाए तर एमाले जनताको प्यारो पार्टी, जनताबाट उब्जिएको पार्टी हो,जनताको साथकै कारण विरोधीको प्रयास विफल भयो ।’
विदेशीका लागि कम्फर्टेबल सरकार बनाइदिने उद्देश्य बोकेकाहरुले दुई तिहाइ बहुमतको सरकार ढाल्ने र पार्टी एकता तोड्ने काम गरेका अध्यक्ष ओलीले बताउनुभयो ।
एमाले सिध्याउने उनीहरुको षड्यन्त्र नेपाली जनताले नै असफल पारिदिएको अध्यक्ष ओलीले बताउनुभयो।