अवसर पाउँदा एमालेले सधैं जनताको पक्षमा काम गर्छः विनोद ढकाल

विराटनगर । नेकपा एमालेका केन्द्रीय सदस्य तथा मोरङ क्षेत्र नं. ४ बाट प्रतिनिधिसभाका उम्मेदवार विनोद ढकालले जब जब एमालेले सरकारको नेतृत्व गर्छ त्यतिबेला जनता र राष्ट्रको हितका लागि काम गर्दै आएको चर्चा गर्नुभएको छ ।

विराटनगर १० मा आयोजित चुनावी कोणसभालाई सम्बोधन गर्दै उहाँले भन्नुभयो ‘यो मुलुकमा जबजब एमालेले नेतृत्व गर्छ, त्यसबेला जनता र राष्ट्रको पक्षमा राम्रो काम गरेको छ ।’

उहाँले मनमोहन अधिकारीले नेतृत्वको एमाले सरकारले ल्याएका ‘बृद्धभत्ता, आफ्नो गाउँ आफै बनाऔँ’ जस्ता कार्यक्रमको स्मरण गराउँदै मनमोहन अधिकारीदेखि केपी शर्मा ओली नेतृत्वको सरकारले गरेका काम स्मरण गरे पुग्ने बताउनुभयो । तर एमाले नेतृत्वको सरकारले जनपक्षिय काम गर्नासाथ देशी विदेशी शक्ति लागेर अवरोध गर्ने गरेको बताउनुभयो ।

उहाँले भन्नुभयो ‘देशलाई समृद्धि र विकास चाहिएको छ । यसका लागि नेकपा एमालेको बहुमतको सरकार आवश्यक छ । एमालेसँग विकास र समृद्धिका योजना छन् । ती योजना कार्यान्वयन गर्न नेकपा एमालेलाई अवसर चाहिएको छ ।’

एमाले नेतृत्वको सरकारले जहिलेपनि अभिभावकत्व ग्रहण गर्ने गरेको चर्चा गर्दै उहाँले राष्ट्रियता, स्वभिमान र विकासका निम्ति एमालेले खेलेको भूमिका सबैलाई अवगत रहेको बताउनुभयो ।

‘चाहे त्यो भारतीय नाकाबन्दीका विरुद्ध होस् या कालापानी,लिम्पियाधुरा र लिपुलेकको भूमि फिर्ता लिने सन्दर्भमा चालेको कदम होस् । भारतसंग मात्रको पारवहनको निर्भरता हटाउँदै चिनसँग खोलिएका नौ वटा नाकाको सन्र्दभमा नै किन नहोस् । त्यो सबै एमाले सरकार भएकोबेला गरेको हो’ उहाँले भन्नुभयो ।

विकास निमार्णका निम्ति ल्याएका सुरुङ मार्गदेखि रेल मार्गको विस्तार, सामाजिक सुरक्षा कोषको स्थापनादेखि स्वास्थ्य बिमा, सयौं अस्पतालको एकसाथ सिलन्यास, युवालाई रोजगारीदेखि बेरोजगारलाई भत्तासम्मको योजना लिएर समृद्ध नेपाल सुखी नेपालीको राष्ट्रिय अभियानलाई सार्थक पार्न नेकपा एमाले यतिबेला जनताको जनादेश लिन मतदातामाझ आइरहेको भन्दै उहाँले मंसिर ४ मा सूर्यमा मतदान गर्न आग्रह गर्नुभयो ।

‘जनतालाई एमालेले कहिल्यै विश्वासघात गरेको छैन । तर एमालेलाई पूर्ण रुपमा काम गर्न दिईदैन । त्यसकालागि देशी विदेशी शक्तिहरुको षड्यन्त्र हुन्छ । त्यसकै उपज परमादेशको माध्यमबाट नेकपा एमालेको सरकार तीन वर्षमै हटाइएको छ । परमादेशबाट छेकिएपनि जनादेशबाट छेकिँदैन ।’

उहाँले थप्नुभयो ‘बहुमत ल्याउने हैसियतमा यतिबेला नेकपा एमाले मात्रै हो । माओवादी कांँग्रेसको बुई चढेर जित्न खोज्दैछ, हिजो एमालेको बुई चढेर धोका दिएको माओवादीले अब कांग्रेसलाई धोका दिन र अस्थिर राजनीतिमा रमाउन खोजिरहेको देखिन्छ ।’

आफ्नो क्षेत्रको विकासका लागि प्रतिबद्ध रहेको भन्दै ढकालले भन्नुभयो ‘हामी यो क्षेत्रको विकासको अगुवाई गर्न चाहन्छौंं । ०५१ सालमा सुरु गरिएको रिङरोडलाई पूर्णता दिन, विमानस्थललाई क्षेत्रीयस्तरको रुपमा विकास गर्न चालेको कदम गठबन्धन सरकारले रोकेपनि त्यसलाई पूर्णता दिन पनि अब एमालेको सरकार आवश्यक छ ।’

Back to top button