
विराटनगर । पूर्व–पश्चिम लोकमार्गअन्तर्गत मोरङको सुन्दरहरैँचा नगरपालिका–७ गोठगाउँमा भारतीय नम्बर प्लेटको कारले ठक्कर दिँदा गएराति एक मोटरसाइकल चालकको मृत्यु भएको छ ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को ३१ प ७२६६ नम्बरको मोटरसाइकललाई विपरीत दिशाबाट आउँदै गरेको बी आर ३८ एन २२०२ नम्बरको कारले राति ९ः२० बजेतिर ठक्कर दिँदा दुर्घटना भएको हो । मोरङ ट्राफिक प्रमुख प्रहरी निरीक्षक राजकुमार कार्कीका अनुसार दुर्घटनामा परेर मोटरसाइकल चालक मोरङको केराबारी गाउँपालिका–७ का ४२ वर्षीय उत्तमकुमार मगरको मृत्यु भएको हो ।
गम्भीर घाइते हुनुभएका मगरको उपचारका क्रममा सामुदायिक अस्पताल इटहरीमा राति १०ः३० बजेतिर मृत्यु भएको कार्कीले बताउनुभयो । प्रहरीले नियन्त्रणमा लिएर कार चालक भारत अररिया बेलाईका २५ वर्षीय रविकुमार दासमाथि अनुसन्धान सुरु गरेको छ ।
मोटरसाइकल चालकको साथमा सवारी चालक अनुमति पत्र (लाइसेन्स) लगायतका कागजात फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट सवारीसाधनको तीव्र गतिका कारण दुर्घटना भएको खुलेको छ ।