संखुवासभामा वाइसीएलका केन्द्रीय सचिवसहितका नेता एमालेमा प्रवेश

विराटनगर । संखुवासभामा नेकपा माओवादी केन्द्रको भातृ संगठन युथ फोर्स नेपाल (वाइसीएल) का केन्द्रीय सचिवसहित दर्जनौँ नेता कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका छन् ।

आज माओवादी केन्द्रका प्रदेश कमिटी सदस्यसमेत रहनुभएका वाइसीएलका केन्द्रीय सचिव पृथक पाठकसहित माओवादीका जिल्ला र नगर कमिटीका नेता कार्यकर्ताहरु एमालेमा प्रवेश गर्नुभएको हो । एमालेले मादीमा आयोजना गरेको चुनावी कार्यक्रममा उहाँहरु एमाले प्रवेश गर्नुभएको हो ।

पार्टी प्रवेश गर्नेहरुमा माओवादीका जिल्ला सदस्य ग्याल्जेन शेर्पा, वाइसीएल जिल्ला सदस्य दिपेश खवास, मादी नगर कमिटी सदस्य शनक बहादुर विक, दावा लामा, प्रेम तामाङ, पासाङ शेर्पा र पासाङ ल्यामु शेर्पालगायतका नेता रहनुभएको छ ।

उहाँहरुलाई नेकपा एमाले स्थायी कमिटी सदस्य तथा संखुवासभाका प्रतिनिधिसभा सदस्यका उम्मेदवार राजेन्द्र गौतम प्रदेश ‘ख’ का उम्मेदवार विदुर लिंथेपलगायतका नेताले प्रवेश गराउनुभएको हो ।

माओवादी परित्याग गरी एमालेमा प्रवेश गरेपछि पृथक पाठकले देशको हित र जनताको जीवनस्तर उठाउन एमालेले मात्र काम गर्न सक्ने बताउनुभयो ।

देशको विकास र समृद्धिका लागि एमालेको सरकार आवश्यक रहेको पाठकले बताउनुभयो । पछिल्लो समय नेकपा एमालेको चुनावी अभियानमा संखुवासभामा नेपाली कांग्रेस र माओवादी परित्याग गरी एमाले प्रवेश गर्नेको संख्या बढ्दो रहेको एमालेले बताएको छ ।

Back to top button