निर्वाचन जितेपश्चात गोरखाका २ जनालाई मन्त्री बनाउँछु : प्रचण्ड

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफू र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा मिलेपछि ‘नेपालमा गर्न नसकिने केही नरहेको’ दाबी गर्नुभएको छ ।

चुनाव प्रचार–प्रसारका क्रममा आज हेलिकोप्टर चार्टर गरी चुमनुब्री–३ सिर्दिबासको फिलिम पुग्नुभएका प्रचण्डले सभामा बोल्दै आफूहरु २ मिलेपछि नेपालमा सबै काम गर्न सम्भव हुने बताउनुभएको हो ।

‘गोरखाको विकासका निम्ति राजेन्द्र बजगाईंलाई केन्द्रमा र नन्द न्यौपानेलाई प्रदेशमा मन्त्री बनाई विकासको जिम्मा दिइनेछ। यो प्रस्ताव म शेरबहादुर देउवाजीसँग राख्नेछु’,उहाँले भन्नुभयो,‘अहिले नेपालमा शेरबहादुर देउवा र प्रचण्ड मिलेपछि नहुने केही पनि छैन।’

अध्यक्ष प्रचण्डले प्रतिनिधिसभाका उम्मेद्वार राजेन्द्र बजगाईँलाई र प्रदेशसभाका उम्मेदवार नन्दप्रसाद न्यौपानेलाई रुखमा मतदान गर्न र समानुपातिकमा नेकपा माओवादी केन्द्रलाई हँसिया हथौडामा मतदान गर्न आग्रह गर्नुभएको छ ।

निर्वाचन जितेपश्चात दुवै जनालाई मन्त्री बनाउने जिम्मेवारी आफूले लिने दाबी गर्नुभयो। आफू जहाँ गयो त्यहीँका स्थानीयवासीले विज्ञप्तिमार्फत विभिन्न समस्या राखी समाधानको माग गरेकाले आफू त्यसप्रति संवेदनशील रहेको उहाँको भनाइ थियो।

अध्यक्ष प्रचण्डले यसअघि चुमनुब्रीकै छेकम्पार, सामागाउँको चुनावी सभामा सम्बोधन गर्नुभएको थियो। त्यहाँबाट उहाँ धार्चेको माछाखोला र बारपाकको चुनावी सभामा सहभागी भई सहिदलखनको घैरुङको चुनावी सभामा सम्बोधन गर्ने कार्यक्रम छ।

Back to top button