कांग्रेस र माओवादी त्यागेर सयौं नेता कार्यकर्ता एमालेमा प्रवेश

विराटनगर । माओवादी केन्द्र र नेपाली काँग्रेसका सयौं कार्यकर्ता पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन् । बेलबारी नगरपालिका वडा ८ स्थित राईझारमा हिजो बेलुका सिंगो एउटा गाउँ नै एमालेमा प्रवेश गरेका हो ।

माओवादी केन्द्रका जिल्ला कमिटी सदस्य अमिन विश्वास, सुशीला विश्वास खवास र नगर कमिटी सदस्य जोहारीलाल खवासको नेतृत्वमा वृद्धदेखि युवासम्म सबै उमेरका स्थानीय उत्साहित हुँदै एमालेमा प्रवेश गर्नुभएको हो । नेपाली काँग्रेसका क्रियाशील सदस्य भवानी न्यौपानेलगायत केही युवाहरू पनि एमाले प्रवेश गर्नुभएको छ ।

१० वर्षको जनयुद्धमा सङ्घर्ष गर्दा पनि माओवादी पार्टीबाट देशले न्याय नपाएकोले एमाले प्रवेश गरेको जिल्ला कमिटी सदस्य अमिन विश्वासले बताउनुभयो । एमाले विजय भए मात्र देश र जनताको भलो हुने बताउँदै मंसिर ४ गते सूर्य चिन्नमा मतदान गर्न समेत विश्वासले आग्रह गर्नुभएको छ ।

पूर्व मन्त्री तथा नेकपा एमालेका तर्फबाट मोरङ क्षेत्र नं.३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार भानुभक्त ढकाल, बेलबारी नगरपालिकाका निवर्तमान प्रमुख तथा क्षेत्र नं.३ (२) प्रदेशसभा सदस्य पदका उम्मेदवार ज्ञानेन्द्र सुवेदीले औपचारिक रूपमा पार्टी प्रवेश गराउनुभएको हो । ढकालले पार्टी प्रवेश गर्ने स्थायीहरूलाई स्वागत गर्दै गर्व अनुभूति भएको बताउनुभयो । नेकपामा जुटेर नेतृत्वको सङ्घर्षमा छुटेका परिवार पुनः नेकपा एमालेमा समाहित भएको ढकालले बताउनुभयो ।

सबैले घेराबन्दी गरेर एमालेलाई कमजोर बनाउन कोसिस गरिरहेको बेला एमालेलाई जिताउँदा मात्र राष्ट्र र जनताको जित हुन्छ भन्ने कुरालाई सुनिश्चित गर्न निर्णायक समयमा पार्टी प्रवेश भएको ढकालले बताउनुभयो । अप्ठ्यारो बेलामा आएकोले पार्टीले उच्च–मूल्याङ्कन गर्ने ढकालले बताउनुभयो ।

विगतमा कम आएको जनताको गुनासो, निर्वाचन समापन पश्चात् क्षतिपूर्ति सहित घरदैलोमा आउने ढकालले प्रतिबद्धता पनि गर्नुभयो । जनताले धेरै माया गरेकै कारण कम उपस्थितिको गुनासो आएको उहाँले बताउनुभयो ।

पार्टी प्रवेश कार्यक्रममा पूर्व राज्य मन्त्री तथा नेकपा एमालेका प्रदेश कमिटी सदस्य राजकुमार ओझा, रघु नेपाल उद्योग व्यवसायी महासङ्घ केन्द्रीय सचिव, प्रदेश कमिटी सदस्य सुधन चौहान, मोरङ जिल्ला कमिटी सदस्य राजकुमार श्रेष्ठ, रविन थापा, गजेन्द्र लिम्बु लगायतको उपस्थिति थियो ।

केही दिन अघि बेलबारी ८ त्रिवेणी चौक नेपाली काँग्रेसबाट प्रभु चौधरीको नेतृत्वमा २० जना नेकपा एमाले प्रवेश गरेको रविन थापाले जानकारी दिनुभएको छ ।

Back to top button