विराटनगर महानगरको लोगो बनाउनेलाई एक लाख पुरस्कार घोषणा

विराटनगर । विराटनगर महानगरपालिकाको प्रतीक चिन्ह (लोगो) बनाउन सार्वजनिक रुपमा आह्वान गर्दै पुरस्कारको घोषणा गरेको छ । आफ्नै लोगो प्रयोगमा ल्याउने उद्देश्यका साथ महानगरपालिकाले १ लाख रुपैयाँ पुरस्कारको घोषणा गरेको हो ।

महानगरका मेयर नागेश कोइरालाको अध्यक्षतामा कात्तिक ३ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार लोगो निर्माणका लागि सार्वजनिक सूचनासमेत जारी गरिसकेको छ । इच्छुक व्यक्ति वा संस्थाले लोगोको डिजाइन हुलाक वा महानगरको इमेलमा पठाउन सक्नेछन् ।

मंसिर १८ गतेसम्म प्राप्त लोगोको डिजाइनलाई छनौट प्रक्रियामा सामेल गरिने महानगरका प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद कोइरालाले जानकारी दिनुभयो । छनौटमा परेको उत्कृष्ट लोगोलाई एक लाख नगदले पुरस्कृत गरिनेछ ।

छनौट भएको लोगो महानगरले प्रयोगमा ल्याउनेछ । लोगोमा समेटिनुपर्ने विषय र शर्तसहित महानगरले आजको गोरखापत्र दैनिकमा सूचनासमेत प्रकाशित गरिसकेको छ ।

Back to top button