जनताको समृद्धिको आकांक्षालाई गठबन्धनले पूरा गर्छः मन्त्री श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री तथा काठमाडौं क्षेत्र नं–८ का प्रतिनिधिसभा सदस्य उम्मेदवार जीवनराम श्रेष्ठले जनताको समृद्धिको आकांक्षालाई वाम–लोकतान्त्रिक गठबन्धनले पूरा गर्ने प्रतिबद्धता जनाउनुभएको छ ।

आज काठमाडौंको कलंकीमा गठबन्धनको कार्यकर्ता भेलालाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले सत्ता स्वार्थका लागि नभएर राष्ट्रिय आवश्यकताले वाम–लोकतान्त्रिक गठबन्धन बनेको भन्दै समृद्धिको जनआकांक्षा आफूहरुले पूरा गर्ने बताउनुभएको हो ।

प्रतिगमनको खतरा रहेसम्म सत्तारुढ दलबीच रहेको गठबन्धन कायम रहने जानकारी दिँदै उहाँले अहिलेको चुनावमा प्रतिगमन र अग्रगमनबीचको प्रतिस्पर्धा हुने उल्लेख गर्नुभयो।

सत्ता गठबन्धनले निर्वाचनमा अत्यधिक बहुमत ल्याउने दाबी गर्दै उहाँले राष्ट्र निर्माण, लोकतन्त्र रक्षा र जनताको समृद्धिको चाहना पूरा गर्ने बताउनुभयो।

एमाले अध्यक्ष केपी शर्मा ओलीले संविधान र लोकतन्त्रलाई समाप्त गर्न खोजेको बताउँदै उहाँले प्रतिगमनबाट मुलुकलाई बचाउन निर्वाचनमा गठबन्धन एक ढिक्का भएको बताउनुभयो।

मन्त्री श्रेष्ठले काठमाडौं–८ मा आफूले सुरू गरेका कैयौं परियोजना निरन्तरताका लागि उम्मेदवार बनेको बताउनुभयो। उहाँले आफ्नो निर्वाचन क्षेत्रलाई नमुना पर्यटकीय क्षेत्रको रूपमा विकास गर्ने आफ्नो योजना रहेको बताउनुभयो।

सम्पदा क्षेत्रका जनताले पर्यटनबाट प्रत्यक्ष लाभ लिने वातावरण बनाउन स्थानीयवासीलाई सीपमूलक तथा आयआर्जनका कार्यक्रममा सामेल गरिने उहाँले बताउनुभयो।

Back to top button