प्रचण्ड भोटले जित्न नसक्ने भएपछि आक्रमणमा उत्रिएः ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गोरखामा अब्दुस मियाँको प्रचार–प्रसार समूहमाथि भएको आक्रमणको निन्दा गर्नुभएको छ ।

आज चितवनमा भएको चुनावी सभालाई सम्बोधन गर्दै उहाँले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गोरखा–२ मा जनताको मत ल्याएर जित्ने अवस्था नआएपछि आक्रमणमा उत्रिएको आरोप लगाउनुभएको छ ।

गोरखामा एमालेबाट प्रतिनिधिसभा सदस्य उम्मेदवार रहनुभएका अब्दुस मियाँको प्रचार–प्रसार टोलीमाथि गएराति आक्रमण भएको घटनाको ओलीले घोर भर्त्सना गर्नुभएको हो । गएराति पाँच जनाको समूहले खाना खाने क्रममा पालुङटार नगरपालिका–७ स्थित म्याङ्गो रिसोर्टमै बियरको बोतलले प्रचार–प्रसार टोलीमाथि आक्रमण भएको थियो।

सत्ता गठबन्धनको समर्थनमा माओवादी अध्यक्ष प्रचण्डका प्रतिस्पर्धी एमालेका युवा उम्मेदवार मियाँको प्रचार–प्रसार टोलीमाथि आक्रमण हुँदा एमाले प्रदेश सचिवालय सदस्य हरि काफ्लेको टाउकोमा गहिरो चोट लागेको छ।

ओलीले सोही घटनालाई लक्षित गर्दै चितवनको चुनावी सभामा ‘एउटा युवा आयो, उठ्छु भन्यो, उठयो अनि उसलाई ढुङ्गा हान्ने? कति आत्तिएका होलान्? मलाई यस्ता गुण्डागर्दीको पार्टीको तर्फबाट भत्सर्ना गर्छु। ढुंग्रो बजाएको होइन, घण्टी बजाउन पनि नदिने? स्थानीय चुनावमा गठबन्धनले ५ जना मार्‍यो। आक्रमण गर्ने, गुण्डागर्दी गर्ने?’ भन्दै आक्रोस पोख्नुभएको थियो।

उहाँले एमालेले जित्दा देशको अर्थतन्त्र उकासिने पनि बताउनुभयो।
‘गठबन्धन चुनावपछि पनि जारी रहन्छ रे। आ–आफै घोषणापत्र छन्। कसको लागू गर्ने भन्ने झगडा हुन्छ। तर एमालेले जित्दा देश कसरी बनाउने, अर्थतन्त्रलाई कसरी उकास्ने भन्ने ग्यारेन्टी छ’, ओलीले भन्नुभयो।

उहाँले एमालेले हुलाकी राजमार्ग बनाएको स्मरण गर्दै भन्नुभयो, ‘जे गर्छ एमालेले गर्छ। हुलाकी राजमार्ग बनायो, एमाले आएपछि मेलम्चीको पानी आयो।’

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको चुनावी प्रचार टोलीमाथि भएको आक्रमणको पनि ओलीले निन्दा गर्नुभएको छ ।

लामिछानेको चुनावी प्रचार टोलीमाथि हिजो दिउँसो चितवनको इच्छाकामना गाउँपालिकामा सत्ता गठबन्धनको टोलीले आक्रमण गरेको थियो।

लामिछाने चितवन क्षेत्र नम्बर–२ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार हुनुहुन्छ।

चितवन–२ मा सत्ता गठबन्धनको समर्थनमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ र एमालेका कृष्णभक्त पोखरेल मैदानमा हुनुहुन्छ ।

गठबन्धन फुटेको हाँडी भएको र देशका लागि अभिशाप भएको ओलीको तर्क छ।

Back to top button