तापक्रम क्रमशः घट्दै, सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको आग्रह

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले तापक्रम क्रमिक रूपमा घट्दै गएकाले सतर्कता अपनाउन आग्रह गरेको छ ।

विभागले देशभर पश्चिमी वायुको प्रभावले आंशिकदेखि सामान्य प्रभाव रही तापक्रम क्रमिकरूपमा घट्दै जाने सम्भावना देखिएकाले चिसोबाट बच्न आवश्यक सावधानी अपनाउन सबैमा अनुरोध गरेको हो ।

केही दिनयताको अवस्थालाई हेर्दा न्यूनतम तापक्रम अझै घट्न सक्ने बताइएको छ । महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ० डिग्री र अधिकमत तापक्रम २२ दशमलव ० डिग्री सेल्सियस रहेको छ ।

त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम २ दशमलव ६ डिग्री सेल्सियस र सबैभन्दा बढी जनकपुरको अधिकतम तापक्रम ३० दशमलव २ डिग्री सेल्सियस मापन गरिएको छ ।

हाल देशको प्रदेश नं १, बागमती र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ । रातिको समयमा प्रदेश नं १ र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १ र गण्डकी प्रदेशका हिमाली भू–भागका एक वा दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।

Back to top button