मध्यपुरथिमिको एक घरमा आगलागी हुँदा एकको मृत्यु,एक घाइते

भक्तपुर । मध्यपुरथिमि नगरपालिका–६ राईटोल माथिल्लो कुण्डोलमा एक घरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।

आज बिहान ८ बजे ४९ वर्षीय आत्माराम केसी र ४१ वर्षीय हरिशरण केसीको तीन तले कच्ची घरमा आगलागी भएको थियो।

आगलागीमा आत्मारामकी छोरी २५ वर्षीया अस्मिताको मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक राजु पाण्डेले जानकारी दिनुभयो। अस्मिता प्यारालाइसिस र सुस्तमनस्थितिकी हुनुहुन्थ्यो।

यस्तै हरिशरणकी छोरी १४ वर्षीया नित्मा केसी घाइते हुनुभएकको छ। उहाँको उद्धार गरी उपचारका लागि नेपाल कोरिया मैत्री नगरपालिका अस्पताल थिमि लगिएको पाण्डेले जानकारी दिनुभयो।

बिहान आगलागी भएपछि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल, जुद्ध बारुणयन्त्रका दुई दमकल र स्थानीयवासीको सहयोगमा बिहान ९ बजे आगो नियन्त्रणमा लिएको प्रनाउ पाण्डेले जानकारी दिनुभयो। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Back to top button