
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई जिताउन आह्वान गर्नुभएको छ । सुनसरीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै ओलीले एउटा सुदृढ राष्ट्रिय शक्ति निर्माण गर्न एमालेलाई जिताउनुपर्ने बताउनुभएको हो ।
भगवती चौधरीलाई भोट माग्दै उहाँले एमालेलाई जिताए सुनसरीको विकासले गति लिने दावी गर्नुभयो। विजयी कुमार गच्छदारप्रति लक्षित गर्दै जिते पनि उहाँ लुकेर हिंड्ने बताउनुभयो । ओलीले भने, ‘माथि पठायो लुकेर हिँड्छ । कोसँग लुक्छ, हवलदारसँग लुक्छ । मुद्दा लाग्छ, भागेर हिंड्छ ।’
उहाँले लोसपा यो पटक राष्ट्रिय पार्टीमा नआउने दावी गर्नुभयो। अध्यक्ष ओलीले भन्नुभयो,‘माओवादी अघिल्लो चुनावमा सिद्धिन आटेको थियो । मैले औंलो समातेर चुनावको खोलो तारिदिए । घरमा आगो लगाएर कांग्रेसको पिढीमा बास बस्न गयो । अब त्यो माओवादी आफै ५–७ सिट ल्याउँछ कि ल्याउँदैन । त्यस्ता ढोड्केको लौरो टेकेर चुनावको खोलो तर्छु भनेर हिँडेको छ कांग्रेस।’
सेटिङबाट धरौटीमा छुटेकोलाई कांग्रेसले उम्मेदवार बनाएको ओलीको आरोप छ । उहाँले पाँचपटक शेरबहादुर देउवा प्रधानमन्त्री भएपनि देशका लागि केहि काम नगरेको बताउनुभयो।
अध्यक्ष ओलीले देशलाई शान्ति र विकास आवश्यक रहेको औंल्याउनुभयो।