मेस्सी र रोनाल्डोसहित ४ खेलाडी पाँचौपल्ट विश्वकप खेल्दै

काठमाडौं । आउदो आइतबारदेखि कतारमा सुरु हुने फिफा विश्वकपका लागि सहभागी ३२ वटै राष्ट्रको आधिकारिक टोली सार्वजनिक भइसकेको छ । ३२ राष्ट्रका कूल ८३१ खेलाडी कतार विश्वकप खेल्न जानेछन् । जसमध्ये ४ खेलाडी आफ्नो पाँचौ विश्वकप खेल्दैछन् ।

कतार विश्वकप अघि ४ जनाले मात्र विश्वकपका पाँच संस्करण खेल्ने कीर्तिमान बनाएका छन् । अब २२औं संस्करणको विश्वकप फुटबलमा अरु चार खेलाडीले उक्त उपलब्धी हासिल गर्नेछन् ।

यसअघि मेक्सिकोमा एन्टोनिओ कार्बाजल र राफा मार्क्वेज, जर्मनीमा लोथर म्याथ्युज र इटलीका जियानलुजी बुफोनले पाँचवटा विश्वकप खेल्नुभएको थियो।

कार्बाजलले १९५० देखि १९६६ सम्म खेल्नुभएको थियो भने म्याथ्युजले १९८२ देखि १९९८ सम्म खेल्नुभएको थियो । यस्तै बफोनले १९९८ देखि २०१४ सम्म तथा मार्क्वेजले २००२ देखि २०१८ सम्म खेल्नुभएको थियो ।

सन् २००६ देखि लगातार ४ विश्वकप खेलेका ४ खेलाडी कतारमा पाँचौ विश्वकप खेल्दैछन् । विश्व फुटबलकै सुपरस्टार द्वय लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो आफ्नो पाँचौ विश्वकप खेल्दैहुनुहुन्छ । यस्तै मेक्सिकोका गोलकिपर गुइलेर्मो ओचाओ र आन्द्रेस गुअर्डाडो पनि पाँचौ विश्वकप खेल्दैहुनुहुन्छ ।

चारै खेलाडीले सन् २००६ मा जर्मनीमा भएको विश्वकपबाट विश्वकपमा डेब्यू गर्नुभएको थियो।

अहिले कतारमा विश्वकप खेल्न जानेमाध्ये मेसी सबैभन्दा अनुभवी हुनुहुन्छ । ३५ वर्षीय मेसीले ४ विश्वकपमा कूल १९ खेल खेल्नुभएको छ र ६ गोल गर्नुभएको छ । कतार विश्वकपमा फाइनलसम्म पुगेर ७ खेल खेल्नुभएमा मेसी सर्वाधिक खेल खेल्ने खेलाडी बन्नुहुने छ ।

यस्तै रोनाल्डोले ४ विश्वकपमा गरी १७ खेल खेल्नुभएको छ भने ७ गोल गर्नुभएको छ । मेक्सिकोका गोलकिपर ओचाओले ८ खेल खेल्नुभएको छ । सोही देशका कप्तानका गुअर्डाडले १२ खेल खेल्नुभएको छ ।

Back to top button