
काठमाडौं । आउदो आईतबारबाट सुरु हुने फिफा विश्वकप फुटवल नेपालमा प्रत्यक्ष प्रसारण हुने नहुने बिषयको अन्योल सर्वोच्च अदालतले अन्त्य गरिदिएको छ ।
आज न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोजकुमार शर्माको संयुक्त इजलासले यसअघि सर्वोच्चकै एकल इजलासले दिएको अन्तरिम खारेज गरेको हो । यससँगै नेपाली टेलिभिजनले दर्शकसँग अतिरिक्त शुल्क लिएर फुटबल लाइभ देखाउन पाउने भएका छन् ।
बिश्वकप फुटवल निःशुल्क देखाउनुपर्ने जिकिर गर्दै दुई अधिवक्ताले दायर गरेको निवेदनमा न्यायाधीश प्रकाशमानसिंह राउतको एकल इजलासले २२ कात्तिकमा विश्वकपको तयारीलाई यथास्थानमा राख्न अल्पकालीन अन्तरिम आदेश जारी गर्नुभएको थियो।
नेपालमा विश्वकप प्रसारणका लागि मिडिया हबले शुल्क बुझाएर फिफाबाट अनुमति पाएको थियो । आफूले तिरेको रकमको केही अंश दर्शकबाट उठाउने भन्दै उसले लाइभ हेर्नका लागि निश्चित शुल्क तोक्ने तयारी गरेको थियो । तर लाइभ प्रशारणको अन्तिम तयारी भइरहेका बेला सर्वोच्चको आदेशले तयारी अवरुद्ध हुने भए पनि अब तीब्र गतिले तयारी गर्ने मिडिया हबका कार्यकारी निर्देशक सोम धितालले बताउनुभयो ।
‘अदालतको आदेशको सम्मान गर्दै हामीले सवै तयारी रोकका थियौं, तर अब कानुनी बाटो खुला भएको छ’ धितालले भन्नुभयो, ‘प्राविधिक र अन्य तयारीका लागि समय निकै अपुग छ तर पनि रातदिन गरेरै भए पनि प्रसारणको तयारीमा लाग्छौं ।’