काठमाडौं–५ मा राप्रपाको निर्वाचन सम्पर्क कार्यालयमा तोडफोड

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को काठमाडौं क्षेत्र नं.५ स्थित निर्वाचन सम्पर्क कार्यालयमा तोडफोड भएको छ ।

गएराति एउटा समूहले कार्यालयमा तोडफोड गरेर झण्डा च्यात्ने र प्रचार सामग्री फालेको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताउनुभयो।

उहाँका अनुसार उनीहरुले कार्यालयमा नेकपा एमालेको झण्डा गाडेका छन् । ‘तर, त्यहाँ देखिएका मान्छेहरु एमाले समर्थक हुन् जस्तो देखिएको छैन’, श्रेष्ठले भन्नुभयो,‘पहिले राप्रपामै रहेर पार्टी छाडेका मान्छेहरु देखिएका छन् ।’

यसबारे अनुसन्धान गरिदिन भन्दै राप्रपाले प्रहरीमा उजुरी पनि दिएको छ । प्रवक्ता श्रेष्ठले निर्वाचनलाई स्वच्छ, विश्वसनीय र भयरहित बनाइदिन सरकारसँग पनि माग गर्नुभएको छ ।

काठमाडौं–५ मा राप्रपाबाट रामप्रसाद उप्रेती उम्मेदवार हुनुहुन्छ । यो क्षेत्रमा नेकपा एमालेबाट ईश्वर पोखरेल र नेपाली कांग्रेसबाट प्रदीप पौडेल उम्मेदवार हुनुहुन्छ ।

Back to top button