
काठमाडौं । नेपालविरुद्ध जारी एकदिवसीय शृंखलाको अन्तिम खेलमा यूएईले घरेलु टिमलाई एक सय ७७ रनको लक्ष्य दिएको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले ५० ओभरमा ९ विकेट गुमाएर एक सय ७६ को योगफल तयार गर्यो।
खराब सुरुआत गरेको यूएईले चौथो ओभरको पहिलो बलमा तीन विकेट गुमाएको थियो।
त्यसपछि सम्हालिने कोसिस गरेको यूएईका रोहन मुस्ताफा र अलिशान साफरुले ६३ रनको साझेदारी गर्नुभएको थियो। तर, त्यसपछि लगातार विकेट गुमाएको यूएईले ३१.१ ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो।
अन्तिम विकेटका लागि हजरत बिलाल र आयान खानले इनिङकै ठूलो ८३ रनको साझेदारी गर्दै यूएईलाई अनपेक्षित योगफलतर्फ अगाडि बढाउनुभयो। यूएईका लागि शानदार ब्याटिङ गरेका आयानले ६० बलमा सात चौका र एक छक्कासहित अर्धशतक पूरा गरेर ५४ रनमा अविजित रहनुभयो। अर्कातिर हजरत २० रनमा अविजित रहनुभयो।
नेपालका लागि कुशल भुर्तेल, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले २–२ विकेट लिनुभयो। सोमपाल कामी र ललित राजवंशीले १–१ विकेट हात पार्नुभयो।
तीन खेलको शृंखलाको पहिलो दिन नेपाल ८४ रनले पराजित भएको थियो। बुधबार भएको दोस्रा एकदिवसीय अन्तर्राष्ट्रियमा ३ विकेटको जित निकालेको नेपाल आज पनि बाजी मार्दै उपाधि घरमै राख्न चाहन्छ।