पञ्जाबी अभिनेत्री दलजीत कौरको निधन

काठमाडौं । पञ्‍जाबी अभिनेत्री दलजीत कौरको निधन भएको छ। लामो समयदेखि ब्रेन ट्युमरबाट ग्रसित अभिनेत्री कौरको ६९ वर्षको उमेरमा बिहीबार लुधियानामा निधन भएको हो। उहाँको भाइ हरिन्दर सिंह खंगुराका अनुसार दलजीत पछिल्लो ३ वर्षदेखि ब्रेन ट्युमरबाट ग्रसित हुनुहुन्थ्यो। उहाँको आज अन्तिम दाहासंस्कार गरिएको छ।

उहाँले सन् १९७६ मा फिल्म दाजबाट आफ्नो फिल्म करिअर सुरु गर्नुभएको हो । उहाँको श्रीमान् हरिमिन्दर सिंह देओलको सडक दुर्घटनामा परी निधन भएपछि उहाँले केही समय फिल्म क्षेत्रबाट ब्रेक लिनुभएको थियो । सन् २००१ मा दलजीत फेरि फिल्म क्षेत्रमा फर्किनुभएको थियो।

आफ्नो फिल्म करिअरमा दलजीतले १० हिन्दी तथा ७० पञ्‍जाबी फिल्ममा अभिनय गर्नुभएको छ । उहाँलाई पञ्जाबी सिनेमाकी मेमा मालिनी पनि भनिन्थ्यो।

धेरै सुपर डुपर फिल्ममा अभिनय गर्नुभएकी दलजीतले पञ्जाबी सिनेमा क्षेत्रमा महत्वपूर्ण योगदान दिनुभएको छ । उहाँका हिट फिल्महरु मामला गडबड है, पटोला, सइदा जोगन, सरपंच, कि बनू दुनिया दा, पुत जट्टा दे हुन्।

Back to top button