यूएई विरुद्धको एकदिवसीय क्रिकेटमा नेपाल ६ विकेटले विजयी

काठमाडौं । आसिफ शेखको अविजित अर्धशतकप्रेरित नेपालले निर्णायक खेलमा ६ विकेटको जितसहित यूएईविरुद्धको एकदिवसीय अन्तर्राष्ट्रिय शृंखला घरमै राख्न सफल भएको छ।

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङ थालेको यूएईले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर १ सय ७६ रनको योगफल बनायो ।
जवाफी ब्याटिङमा उत्रिएको नेपालले ४०. १ ओभरमा ४ विकेट गुमाएर १ सय ८० रनसहित लक्ष्य पूरा गर्‍यो ।

नेपालका ओपनर अर्जुन साउद ३३ बलमा ९ रन जोडेर पेभेलियन फर्किनुभयो । ज्ञानेन्द्र मल्ल र आसिफले दोस्रो विकेटका लागि १ सय २२ रनको साझेदारी गर्दै लक्ष्यतर्फ डोर्‍याउनुभयो ।

वान् डाउनमा क्रिजमा उत्रिएका ज्ञानेन्द्र ७३ बलमा ७ चौका र ३ छक्कासहित ६४ रनको अर्धशतकीय इनिङ खेलेर पेभेलियन फर्किनुभयो । नेपाललाई जिताउन महत्त्वपूर्ण इनिङ खेलेका आसिफ १ सय १९ बलमा १२ चौकासहित ८८ रनमा अविजित रहनुभयो ।

यस्तै, कप्तान रोहित पौडेल १० रनमा आउट हुनुभयो । यूएईका लागि हजरत बिलाल र आयान खानले १/१ विकेट लिनुभयो । पहिलो इनिङमा खराब सुरुआत गरेको यूएईले चौथो ओभरको पहिलो बलमा तीन विकेट गुमाएको थियो।

त्यसपछि सम्हालिने कोसिस गरेको यूएईका रोहन मुस्ताफा र अलिशान साफरुले ६३ रनको साझेदारी गर्नुभएको थियो । तर, त्यसपछि लगातार विकेट गुमाएको यूएईले ३१.१ ओभरमा ९ विकेट गुमाएर ९३ रन बनाएको थियो।

अन्तिम विकेटका लागि हजरत बिलाल र आयान खानले इनिङकै ठूलो ८३ रनको साझेदारी गर्दै यूएईलाई अनपेक्षित योगफलतर्फ अगाडि बढाउनुभयो ।

यूएईका लागि शानदार ब्याटिङ गरेका आयानले ६० बलमा ७ चौका र १ छक्कासहित अर्धशतक पूरा गरेर ५४ रनमा अविजित रहे। अर्कातिर हजरत २० रनमा अविजित रहे। नेपालका लागि कुशल भुर्तेल, गुल्शन झा र दीपेन्द्रसिंह ऐरीले २/२ विकेट लिनुभयो ।

सोमपाल कामी र ललित राजवंशीले १/१ विकेट हात पार्नुभयो । तीन खेलको शृंखलाको पहिलो दिन नेपाल ८४ रनले पराजित भएको थियो। बुधबार भएको दोस्रो एकदिवसीय अन्तर्राष्ट्रियमा ३ विकेटको जित निकालेको नेपालले पुनरागमनसहित शृंखला घरमै राखेको छ।

Back to top button