
विराटनगर । मोरङको क्षेत्र नम्बर ६ अन्तर्गत सुन्दरहरैचा नगरपालिका वडा नम्बर ३ बाट मतदातालाई प्रभाव पार्ने उद्देश्यले लैजाँदै गरेको ८० बोरा चामल स्थानीयले नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएका छन् ।
निर्वाचनको स्थिर अवधि सुरु भएको बेला हिजो एकाएक बिना लेबल र ब्राण्डको सेतो सादा बोरामा प्याक गरिएका ५ सय बोरा चामल ट्रकबाट अनलोड गरिएपछि स्थानीयले आशंका गर्दै सम्बन्धित निकायमा जानकारी गराएका थिए ।
स्थानीय युवा सुदीप पोखरेलका अनुसार मोरङका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाललाई समेत जानकारी गराएपछि उहाँले त्यसलाई नियन्त्रणमा लिइने र वितरणमा पूर्ण रुपमा रोक लगाइने भन्नुभएको थियो ।
यद्यपी आज विहान करिब ८ बजेतिर केहिदिन अघिसम्म सत्ता गठबन्धनको निर्वाचनको प्रचारप्रसारमै खटिएको गाडीमा उक्त चामल लोड गरेको पाइएपछि स्थानीयले नियन्त्रणमा लिँदै प्रहरीलाई खबर गरेका थिए ।
स्थानीयको खबरपछि पुगेको प्रहरीले चामललाई नियन्त्रणमा लिएर गाडी र चालकलाई छाडेपछि भने शक्तिको दुरुपयोग गर्दै प्रहरीले समेत लापरवाहि गरेको स्थानीयको आरोप छ ।
प्रहरी चौकी गछियाकी प्रमुख प्रहरी निरिक्षक मिना राईले गाडि र चालक छाडिएको स्वीकार गर्दै पुनः बोलाइएको बताउनुभयो । उहाँले भन्नुभयो, हामीले चालकलाई खबर गरेर बोलाएका छौं, नआए नियन्त्रणमा लिन्छौं ।’
उहाँले शंकास्पद रुपमा भण्डारण गरिएको चामलको समेत निगरानी गरिरहेको बताउनुभयो । यता प्रमुख जिल्ला अधिकारी दाहालले त्यस बिषयमा बुझ्ने काम भइरहेको प्रतिकृया दिनुभएको छ ।