झापा क्षेत्र नम्बर १ र ३ ‘रेडजोन’ मा, करिब ७ हजार सुरक्षाकर्मी परिचालन

विर्तामोड । झापा क्षेत्र नम्बर १ र ३ सुरक्षाको दृष्टिकोणले ‘रेड जोन’मा रहेको छ। शीर्ष नेताहरूको निर्वाचन क्षेत्र, त्यसमाथि खुला सीमा नाका र चुनाव बहिष्कार गर्ने दलहरूको अराजक गतिविधिलाई मध्यनजर गरी जिल्लाका दुई निर्वाचन क्षेत्र ‘रेड जोन’मा परेका हुन्।

प्रहरी उच्च स्रोतका अनुसार सुरक्षा थ्रेटका कारण झापाका ५ निर्वाचन क्षेत्रमध्ये झापा ३ अति संवेदनशील क्षेत्रमा मानिएको छ। त्यसपछि झापा १ पर्छ। सुरक्षाको दृष्टिकोणले झापा २, ३ र ४ सामान्यमा पर्छ।

झापा ३ मा राप्रपा अध्यक्ष राजेन्द्रप्रसाद लिङदेन र नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । झापा १ मा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा र नेकपा (एमाले) स्थायी कमिटी सदस्य अग्निप्रसाद खरेल चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ।

हिजो मात्रै अज्ञात समूहले झापा ३ अन्तरगत भद्रपुरस्थित वीरेन्द्र मावि मतदान स्थलको गेट बाहिर दुई वटा शङ्कास्पद वस्तु राखेर आतङ्क सृजना गरेको छ। सो वस्तुलाई आज बिहान नेपाली सेनाको बम डिस्फोजल टोलीले निष्क्रिय पारेको थियो। बम नभएर त्यस वस्तुभित्र रेडबुल, रक्सीको बोतलमा बालुवा र बिजुलीको तार हालेर राखेका थिए।

यता गृह मन्त्रालयको निर्देशन बमोजिम प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको नेतृत्वमा रहेको जिल्ला सुरक्षा समन्वय समितिले जिल्लाको मतदानलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण रुपमा सफल बनाउने सोही अनुसारको चारै तहको सुरक्षाकर्मी परिचालन गरेको जनाइएको छ।

नेपाली सेना, सशस्त्र, अनुसन्धान र नेपाल प्रहरी गरी करिब ७ हजार बढी सुरक्षाकर्मी परिचालन गरिएको जनाइएको छ। जिल्लाको २ सय ८५ मतदान स्थलमा ७ सय ६६ मतदान केन्द्र रहेको छ। मेची रङ्गशाला भद्रपुर र झापा कारागारलाई अस्थायी मतदान केन्द्र तोकिएको छ। त्यसमध्ये २ सय ७१ केन्द्र अति संवेदनशील, ३ सय ८१ केन्द्र संवेदनशील र १ सय १४ केन्द्र सामान्य रहेको प्रशासन कार्यालय झापाले जनाएको छ।

प्रदेश नम्बर १ का निमित्त प्रमुख सचिव किशोरकुमार चौधरी, आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव उमेश बस्नेत, नेपाली सेनाका सहायक रथी रञ्जित थापा, प्रदेश प्रहरी कार्यालय विराटनगरका डिआइजी सुदिप गिरी, सशस्त्रका डिआइजी कमल गिरी, अनुसन्धान निर्देशक कृष्णप्रसाद खनाल लगायतको टोलीले बिहीबार मात्रै जिल्लाका मतदान स्थलहरूको निरीक्षण तथा अनुगमन गरिसकेको छ।

निर्वाचन अधिकृतको कार्यालय र मतदान स्थलको सुरक्षासहित जिल्लाभरि ३४ सय म्यादी प्रहरी र २१ सय नेपाल प्रहरी गरी ५५ सय प्रहरी कर्मचारी खटाइसकेको प्रहरी कार्यालय झापाका नायव प्रहरी उपरीक्षक (डीएसपी) वसन्त पाठकले जानकारी दिनुभयो।

यस्तै, गृहले थप ८ डीएसपी र थप ६ इन्स्पेक्टर गरी करिब एक हजार बढी सुरक्षाकर्मी पठाएको छ। ‘जिल्लामा १२ डीएसपी र १४ इन्स्पेक्टरलाई निर्वाचन अधिकृतको कार्यालय र मतदान स्थलको सुरक्षा चुनौती बमोजिम खटाइएको छ,’ डीएसपी पाठकले भन्नुभयो, ‘२ सय ८५ मतदान स्थलमा बुथको सुरक्षाको लागि कम्तीमा ५ देखि बढीमा २० जनासम्म म्यादीसहितको प्रहरी कर्मचारी परिचालन गरिसकेका छौं।’

सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण झापाले निर्वाचन सुरक्षाका लागि ५ जना डीएसपीको नेतृत्वमा १ हजार ७२ जना खटाएको छ। सशस्त्रले पाँचै निर्वाचन क्षेत्रमा डीएसपीको नेतृत्वमा निर्वाचन सुरक्षा बेस, इन्स्पेक्टरको नेतृत्वमा स्टाइकिङ, सई र असईको नेतृत्वमा मोबाइल गस्ती, निर्वाचन अधिकृतको सुरक्षा, मुख्य निर्वाचन अधिकृतको सुरक्षा, रिजव टोली र कार्यालय सुरक्षामा ती जनशक्ति परिचालन गरिएको छ।

मतदानका दिन नेपाली सेनाले पनि मोबाइल र पैदल गस्ती गर्ने जनाइएको छ। राष्ट्रिय अनुसन्धानले पनि पाँचै निर्वाचन क्षेत्रमा सादा पोसाकमा प्रहरी कर्मचारी परिचालन गरिसकेको छ।

यस्तै, स्थानीय तहको निर्वाचनपछि झापामा १३ हजार भन्दा बढी नयाँ मतदाता थपिएको र हाल जिल्लामा ६ लाख ६३ हजार ३ सय ११ जना रहेका छन । जसमा ३ लाख ३१ हजार ४४ जना पुरुष, ३ लाख ३२ हजार २ सय ५९ महिला र अन्य ८ रहेका छन।

Back to top button