
स्टिभ स्मिथको ९४ रनप्रेरित अस्ट्रेलियाले एकदिवसीय अन्तर्राष्ट्रिय शृंखलाको दोस्रो खेलमा इङ्ल्यान्डलाई २ सय ८१ रनको लक्ष्य दिएको छ। सिड्नी क्रिकेट मैदानमा टस जितेर ब्याटिङ रोजेको अस्ट्रेलियाका लागि १ सय १४ बलको सामना गरेका स्मिथले ५ चौका र १ छक्कासहित ९४ रनको शानदार इनिङ खेल्नुभयो।
आदिल राशिदले फालेको ४४औं ओभरको चौथो बलमा फिल साल्टको हातबाट क्याच हुँदा स्मिथ ६ रनले शतक बनाउनबाट चुक्नुभयो। यस्तै, मर्नुस लाबुस्चेनले ५५ बलमा ४ चौका र १ छक्कासहित ५८ रनको अर्धशतकीय इनिङ खेल्नुभएको थियो।
यस्तै, अस्ट्रेलियाका लागि ५९ बलको सामना गर्नुभएका मिचेल मार्सले २ चौका र २ छक्कासहित अर्धशतक बनाएर पेभेलियन फर्कीनुभएको थियो। त्यसबाहेक अन्य ब्याटरको प्रदर्शन उल्लेख्य रहेन।
इङ्ल्यान्डका लागि राशिदले सर्वाधिक तीन तथा क्रिस वोक्स र डेविड विलीले २–२ विकेट लिनुभयो। मोइन अलीले पनि एक विकेट हात पार्नुभयो।
बिहीबार भएको पहिलो एकदिवसीयमा अस्ट्रेलिया ६ विकेटले विजयी भएको थियो। अस्ट्रेलिया भ्रमणमा रहेको इङ्ल्यान्डलाई शृंखला जोगाउन आजको खेल जित्नै पर्ने दबाब छ।
आजको खेलमा पनि जित निकाल्न सके घरेलु टिमले एक खेल अगावै शृंखला हात पार्नेछ।