सोलुखुम्बुमा सुतेकै अवस्थामा मृत भेटिए मतदान अधिकृत

सोलुखुम्बु । सोलुखुम्बुमा एक मतदान अधिकृत सुतेकै अवस्थामा मृत भेटिएका छन् ।

जिल्लाको नेचासल्यान गाउँपालिका–४ स्थित फुर्के सामुदायिक वन मतदान केन्द्रमा खटिएका मतदान अधिकृत ५६ वर्षीय बिल्टु राय आज बिहान सुतेकै ठाउँमा मृत भेटिएको प्रहरीले जनाएको छ ।

मतदान केन्द्रमै सुतेका रायलाई बिहान ४ बजे अन्य कर्मचारीले उठाउन जाँदा ओछ्यानमै मृत फेला पारेको जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक (डिएसपी) सुनिलजङ्ग शाहले बताउनुभयो ।

घटनाको अनुसन्धानका लागि प्रहरी निरीक्षकको कमान्डमा प्रहरी घटनास्थलमा खटिएको छ । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल फाप्लु पठाइएको नेचासल्यान गाउँपालिका उपाध्यक्ष विना राईले जानकारी दिनुभयो ।

यस्तै सर्लाही हरिपुर्वा नगरपालिका–५ स्थायी ठेगाना भएका राय आयुर्वेद स्वास्थ्य केन्द्र नेचामा कार्यरत थिए । रायले लामो समयदेखि सुगर र मुटुको औषधि प्रयोग गर्दै आएका खुलेको छ ।

Back to top button