डडेलधुरामा मतपेटिका पुग्ने क्रम जारी, आजै मतगणना हुने

डडेलधुरा । डडेल्धुरा परशुराम नगरपालिकाका मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयसम्म आउने क्रम जारी छ।

आइपुगेका मतमेटिकालाई भण्डारण गरिसकेपछि सर्वदलीय बैठक ११ बजे बस्ने सूचना जारी गरेको मुख्य निर्वाचन अधिकृत बालकृष्ण वाग्लेले बताउनुभयो।

अन्य क्षेत्र का मतपेटिका मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगिसकेका छन् । परशुरामको केही मतदान स्थलका पेटिका पुग्ने क्रममा छन् । त्यहाँको मतमेटिका आएपछि मात्रै भण्डारण गरी सर्वदलीय बैठकपछि गन्न सुरु हुने जनाएको छ ।

आज बिहान १० बजेसम्म बाँकी मतपेटिका आइपुग्ने अनुमान गरिएको थियो। दुर्गम क्षेत्र र मतपेटिका ढुवानी गर्ने गाडी बिग्रेकाले मतपेटिकाहरू सदरमुकाम पुग्न ढिलो भएको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिनुभयो।

उहाँका अनुसार प्रतिनिधिसभातर्फ १ र प्रदेशसभातर्फ २ निर्वाचन क्षेत्र रहेका डडेलधुरामा ५६ दशमलव ६४ प्रतिशत मत खसेको छ। ९१ हजार २०१ जम्मा मतदातामध्ये ५१ हजार ६६० मत खसेको मुख्य निर्वाचन अधिकृत वाग्लेले जानकारी दिनुभयो।

प्रतिनिधिसभा सदस्यका लागि प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेपाली कांग्रेस वीपीका वरिष्ठ उपाध्यक्ष कर्णबहादुर मल्ल, स्वतन्त्र उम्मेदवार सागर ढकाल, विक्रमबहादुर शाहीलगायत ८ जना उम्मेदवार हुनुहुन्छ ।

प्रदेशसभा–१ मा वाम–लोकतान्त्रिक गठबन्धनबाट माओवादी केन्द्रका सुदूरपश्चिम इन्चार्ज खगराज भट्ट, नेकपा एमालेका नेता एवं सुदूरपश्चिमका पूर्व भौतिक पूर्वाधार विकासमन्त्री पठानसिंह बोहरा, स्वतन्त्र उम्मेदवार महेशसिंह धामीलगायत हुनुहुन्छ।

यसैगरी प्रदेशसभा–२ मा सत्ता गठबन्धनबाट कांग्रेस नेता एवं सुदूरपश्चिमका सामाजिक विकासमन्त्री गोविन्दराज बोहरा, स्वतन्त्र उम्मेदवार डा. ताराप्रसाद जोशीलगायतका उमेदवार हुनुहुन्छ ।

Back to top button