तेह्रथुमको एक मतदान केन्द्रमा भोली पुनः मतदान हुने

तेह्रथुम । तेह्रथुमको एक मतदान केन्द्रमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको प्रत्यक्षतर्फको मतपत्र साटिएपछि पुनः मतदान हुने भएको छ ।

छथर गाउँपालिका–१, आङ्दिम वडा कार्यालय (ख) मतदान केन्द्रमा हिजो भएको प्रत्यक्षतर्फको मतदान रद्द गरी भोली पुनः मतदान गर्ने निर्णय भएको हो ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले जिल्लाका राजनीतिक दलका उम्मेदवार, प्रतिनिधि र सरोकारवालासँगको छलफल र सहमतिपछि भोली पुनः मतदान गराउने निर्णय भएको निर्वाचन आयोगमा लेखी पठाएको छ ।

सो मतदान केन्द्रमा खटिएका कर्मचारीले प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रदेशसभा प्रत्यक्षतर्फको मतपत्र दिएको र प्रदेशसभाको प्रत्यक्षतर्फको मतपत्र दिनुपर्नेमा प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतपत्र दिएको खुलेको छ । मतदान केन्द्रको मुचुल्काका आधारमा यहाँ ४३ जनाले दोहोरो मतदान गरेको देखिएको छ ।

मुख्य निर्वाचन अधिकृत प्रेमश पोखरेलले सर्वदलीय, सर्वपक्षीय बैठकले बढी संख्यामा भएको मतपत्र संख्यासमेत यकिन गरी गणना गर्न नसकिने निष्कर्ष निकाल्दै पुनःमतदान गर्न माग गरेको र सो निर्णयबमोजिम आयोगमा लेखी पठाएको बताउनुभएको छ । उक्त केन्द्रमा ८४४ मतदाता मध्ये हिजो ४५६ जनाले मतदान गरेका छन् ।

Back to top button