पर्सामा कांग्रेसले खाता खोल्यो, प्रदेशसभा सदस्यमा पटेल निर्वाचित

वीरगन्ज । पर्सामा नेपाली कांग्रेसले पहिलो जितको खाता खोलेको छ । पर्सा क्षेत्र नम्बर २ (क) को प्रदेशसभा सदस्यमा नेपाली कांग्रेसका उम्मेदवार श्याम पटेल निर्वाचित हुनुभएको हो ।

निकटतम प्रतिस्पर्धी जनता समाजवादी पार्टी(जसपा) का उम्मेदवार रामनरेश प्रसाद यादवलाई १ हजार ६ सय ५७ मत अन्तरले पछि पार्दै पटेल प्रदेशसभा सदस्यमा विजयी हुनुभएको हो ।

गठबन्धनका साझा उम्मेदवार समेत रहनुभएका पटेलले १३ हजार ७ सय ८४ मत पाउनुभएको छ । जसपा–एमालेका साझा उम्मेदवार यादवले भने १२ हजार १ सय १७ मत मात्रै पाउनुभएको छ ।

प्रदेशसभा सदस्यमा निर्वाचित पटेल , नेपाली कांग्रेस पर्साका पूर्व जिल्ला सचिव पनि हो । कांग्रेसको जिल्ला अधिवेशनमा उहाँ जिल्ला सभापतिका प्रत्यासी समेत हुनुहुन्थ्यो । पटेल, कांग्रेसमा नेता शेखर कोइराला समूह निकट मानिनुहुन्छ।

यस्तै, पर्सामा ४ वटा प्रतिनिधिसभा सदस्य र बाँकी ७ वटा प्रदेशसभा सदस्य पदका लागि भने मतगणना जारी छ ।

Back to top button