
ताप्लेजुङ । ताप्लेजुङमा मतगणना सुरु भएको छ । जिल्लाका दुर्गम एवम विकट क्षेत्रका मतपेटिका आईपुगेसंगै सर्वदलीय बैठकपछि मतगणना सुरु गरिएको हो।
मुख्य निर्वाचन अधिकृतको कार्यालयमा संघ तर्फको मतगणना सुरु गरिएको मुख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो । उहाँका अनुसार पहिला संघ तर्फको गणना सकिए पछि प्रदेश तर्फको गणना सुरु गरिने छ ।
जिल्लाका दुर्गम तथा हिमाली भेगका मतपेटिका आज बिहान मात्र सदरमुकाम ल्याई पुऱ्याइएको थियो । फक्ताङलुङ गाउँपालिकामा पर्ने याङमा, घुन्सा, ग्याब्ला र ओलाङचुङगोलाका मतपेटिका पैदल र सवारीसाधनमा हुँदै आज बिहान मात्र ल्याईपुर्याइएको थियो ।
यहाँ कुल ८८ हजार २ सय ८५ मतदाता मध्ये पुरुष ४७ हजार ८० र महिला ४१ हजार २ सय ५ छन् । दुई वटा अस्थायी सहित १ सय २५ वटा मतदान केन्द्रबाट ४८ हजार ३ सय ५५ जना मतदाताले मतदान गरेको बताईएको छ ।
यहाँ प्रतिनिधिसभा सदस्यमा एमालेका योगेशकुमार भट्टराई र गठबन्धनका तर्फबाट माओवादीका खेलप्रसाद बुडाथोकी (पराग) बीच मुख्य प्रतिस्पर्धा छ । भट्टराई यस अघिको निर्वाचनमा कांग्रेसका केशव दाहाललाई पराजित गर्दै प्रतिनिधिसभा सदस्य बन्नुभएको थियो । बुडाथोकी भने पहिलो पटक गठबन्धनका तर्फबाट निर्वाचनमा होमिनुभएको हो ।
यस्तै, प्रदेशसभा क्षेत्र (क)मा एमालेका तिलकुमार मेन्याङ्बो र गठबन्धका तर्फबाट नेकपा एकीकृत समाजवादीका खेमबहादुर वनेमबीच प्रतिस्पर्धा छ । यता प्रदशसभा क्षेत्र (ख)मा भने एमालेका गोपाल थोप्रा र गठबन्धनबाट कांग्रेसका खगेनसिंह हाङ्गामबीच प्रतिस्पर्धा छ । संघ र प्रदेशमा गरी २६ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।