मोरङमा एमाले र कांग्रेसको दुई–दुई क्षेत्रमा अग्रता, माओवादी र स्वतन्त्र एक एक क्षेत्रमा अघि

विराटनगर । मंसिर ४ मा सम्पन्न प्रदेश तथा प्रतिनिधिसभा सदस्यको निर्वाचनको मतगणना जारी रहँदा मोरङका दुई दुई क्षेत्रमा नेकपा एमाले र नेपाली कांग्रेसले अग्रता लिइरहेका छन् । माओवादी केन्द्रले एक र स्वतन्त्र उम्मेदवारले एक क्षेत्रमा अग्रता कायमै राखेका छन् ।

यो समाचार तयार पार्दासम्म मोरङको १ र २ नम्बर क्षेत्रमा नेकपा एमालेले अग्रता कायम राखेको छ भने क्षेत्र नम्बर ३ र ६ मा नेपाली कांग्रेसले अग्रता बढाउँदै लगेको छ । मोरङ ४ मा माओवादी केन्द्रले अग्रता बढाउँदै लगेको छ भने क्षेत्र नम्बर ५ मा स्वतन्त्र उम्मेदवारले अग्रता कायमै राखेका छन् ।

प्राप्त परिणाम अनुसार मोरङ १ मा नेकपा एमालेका घनश्याम खतिवडाले ७ हजार २९ मत ल्याउँदा नेपाली कांग्रेसका डिगबहादुर लिम्बु ६ हजार ४ सय ५८ मतका साथ पच्छ्याइरहनुभएको छ । उहाँहरु बिच ५ सय ७१ मतको फरक छ ।

मोरङ २ मा नेकपा एमालेका ऋषिकेश पोखरेलले ३ सय ६९ मतले नेपाली कांग्रेसकी सुजाता कोइरालालाई ‘लिड’ गरिरहनुभएको छ । पोखरेलले ९ हजार ७ सय ३६ मत ल्याउँदा कोइरालाले ९ हजार ३ सय ६७ मत ल्याउनुभएको छ ।

मोरङ ३ मा नेपाली कांग्रेसका सुनिल शर्माले १२ हजार ३ सय ३१ मत ल्याउँदा नेकपा एमालेका भानुभक्त ढकालले ७ हजार ८ सय ४ मत ल्याउनुभएको छ । उहाँहरुबिच ४ हजार ५ सय २५ मतको अन्तर छ ।

मोरङ ४ मा माओवादी केन्द्रका अमनलाल मोदीले १७ हजार २ सय १३ मत ल्याउँदा नेकपा एमालेका विनोद ढकालले ९ हजार ३ सय ४८ मत ल्याउनुभएको छ । यो क्षेत्रमा ७ हजार ८ सय ६८ मतको अन्तर रहेको छ ।

मोरङ ५ मा स्वतन्त्र उम्मेदवार योगेन्द्र मण्डलले १२ हजार ३५ मत ल्याउँदा माओवादी केन्द्रका शिवकुमार मण्डलले ९ हजार १ सय १९ मतले पच्छ्याइरहनुभएको छ । उक्त क्षेत्रमा जसपाका राजकुमार यादव पनि ८ हजार ४ सय ७० मतका साथ पच्छ्याइ रहनुभएको छ ।

मोरङ ६ मा नेपाली कांग्रेसका शेखर कोइराला नेकपा एमालेका लालबाबु पण्डित भन्दा २ हजार १ सय ६३ मतले अघि हुनुहुन्छ । कोइरालाले ११ हजार १ सय १३ मत ल्याउँदा पण्डितलाई ८ हजार ९ सय ५० मत प्राप्त भएको छ ।

Back to top button