देशमा परिवर्तनको सुरुवात भइसक्यो : सोविता गौतम

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं–२ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य सोविता गौतमले देशमा परिवर्तनको सुरुवात भइसकेको बताउनुभएको छ ।

आज काठमाडौं–२ मा प्रतिनिधिसभा सदस्यमा निर्वाचित बनेपछि सञ्चारकर्मीहरुसँगको कुराकानीमा उहाँले परिवर्तनको सुरुवात भइसकेकाले कोही पनि नेपाली नागरिक आत्तिनुनपर्ने धारणा राख्नुभयो। अब देशमा नै युवाहरुले केही न केही गरेर देशमै बस्ने वातावरण बनाउन सक्नुपर्ने भन्दै उहाँले अबको ५ वर्षमा देशमा परिवर्तनको ढोका खुल्ने धारणा राख्नुभयो ।

उहाँले प्रदेशको अहिलेको संरचनालाई सुधार गर्नुपर्ने आवश्यकता पनि औंल्याउनुभयो । ‘परिवर्तनको शुरुवात भइसक्यो । अब कोही पनि आत्तिनुपर्ने छैन । हामी जस्ता युवा पुस्ताहरु आज विभिन्न अवसरको खोजीमा विभिन्न देशमा जाँदै गर्दा अब यो देशमा हामी आफैंले केही गर्नुपर्छ । कति देशबाट भाग्ने, कति सहज खोजेर अरुको देशमा मात्रै जाने?’ उहाँले भन्नुभयो ।

सांसद सोविताले जिम्मेवारी बहन गर्न आफू सक्षम रहेको भन्दै देशले गर्व गर्न लायक काम गरेर देखाउने बताउनुभयो ।

Back to top button