
विराटनगर । विराटनगर महानगरको नगर कार्यपालिकाको प्रवक्ताको जिम्मेवारी सन्तोष न्यौपानेले पाउनुभएको छ ।
विराटनगर–५ का वडाध्यक्षसमेत रहनुभएको न्यौपानेलाई कात्तिक २९ गते बसेको कार्यपालिका बैठकको निर्णयअनुसार मेयर नागेश कोइरालाले प्रवक्तामा मनोनित गर्नुभएको हो ।
कार्यपालिकाले सम्पादन गरेका कार्य तथा निर्णयहरू सार्वजनिक जानकारीमा ल्याउने प्रयोजनार्थ नगर कार्यपालिका कार्यसम्पादन नियमावली–२०७५ को नियम, १७ ले प्रवक्ता तोक्ने अधिकार मेयरलाई दिएको छ ।
सोही व्यवस्थाअनुसार मेयर कोइरालाले वडाध्यक्ष न्यौपानेलाई महानगरको प्रवक्ता तोक्नुभएको हो । प्रवक्ताको जिम्मेवारी इमान्दारिता र कुशलतापूर्वक पूरा गर्ने न्यौपानेले बताउनुभयो ।