
ताप्लेजुङ । ताप्लेजुङको १ प्रतिनिधिसभा र २ वटा प्रदेशसभा निर्वाचन क्षेत्र रहेको प्रत्यक्ष तर्फको मतगणना सकिएको छ ।
प्रतिनिधिसभा तर्फको मतगणना सकिए लगत्तै हिजो साँझबाट २ वटै प्रदेशसभा क्षेत्रको मतगणना सुरु गरिएको थियो । प्रतिनिधिसभा तर्फ नेकपा एमालेका योगेश भट्टराई निर्वाचित हुनुभएको छ । उहाँ प्रतिनिधिसभामा दोस्रो पटक निर्वाचित हुनुभएको हो ।
भट्टराईले गठबन्धन तर्फबाट नेकपा माओवादी केन्द्रका खेलप्रसाद बुडाक्षेत्रीलाइ २०८ मतको अन्तरले पराजित गर्नुभएको हो । कुल खसेको ४८ हजार २ सय ९३ मत मध्ये भट्टराईले २१ हजार ९ सय ४३ मत प्राप्त गर्नुभयो भने बुडाक्षेत्रीले २१ हजार ७ सय ३५ मत प्राप्त गर्नुभएको थियो।
यता प्रदेशसभा क्षेत्रको मत परिणाम अनुसार क्षेत्र (क) मा नेकपा एमालेका तिलकुमार मेन्याङ्बो भारी मत सहित निर्वाचित हुनुभएको छ । गठबन्धनका तर्फबाट नेकपा एकिकृत समाजवादीका खेमबहादुर वनेमलाई उहाँले ४ हजार ३९ मतको अन्तरले पराजित गर्नुभयो ।
प्रदेश (क) मा खसेको कुल २५ हजार ६ सय ७६ मत मध्ये तिलकुमार मेन्याङ्बोले १२ हजार ७ सय ७२ मत प्राप्त गर्नुभएको हो भने वनेमले ८ हजार ७ सय ३३ मत प्राप्त गर्नुभयो ।
यस्तै, प्रदेशसभा क्षेत्र (ख) मा भने नेपाली कांग्रेसका खगेनसिं हाङ्गाम निर्वाचित हुनुभयो। नेकपा एमालेका गोपाल थोप्रालाई १ हजार २ सय ४८ को मतान्तरले पराजित गर्दै हाङ्गाम निर्वाचित हुनुभएको हो ।
खसेको कुल २१ हजार ८ सय ७ मत मध्ये हाङ्गामले १० हजार ४ सय ९६ मत प्राप्त गर्नुभयो भने थोप्राले ९ हजार २ सय ४८ मत प्राप्त गरेको मूख्य निर्वाचन अधिकृत निर्मला योङ्याले जानकारी दिनुभयो।
यता संघ र प्रदेशको प्रत्यक्ष तर्फको मतगणना सकिएसँगै समानुपातिक तर्फको मत गणना गर्ने तयारी भएको छ ।