माओवादी ललितपुर जिल्ला संयोजक र सचिवद्धारा राजीनामा

काठमाडौं । निर्वाचनमा व्यहोरेको हारको जिम्मेवारी लिंदै नेकपा माओवादी केन्द्र ललितपुरका संयोजक र सचिवले पदबाट राजीनामा दिनुभएको छ ।

ललितपुर जिल्ला संयोजक शिवप्रसाद कट्टेल र सचिव दीपक पुलामीले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुभएको हो ।
ललितपुर क्षेत्र नम्बर–३ बाट माओवादी केन्द्रकी उपमहासचिव एवम् ऊर्जामन्त्री पम्फा भुसाल पराजित हुनुभएको थियो । क्षेत्र नं.–३ को प्रदेशसभा (१) बाट माओवादी केन्द्रकै राजकाजी महर्जन पनि पराजित हुनुभएको थियो ।

यसैगरी ललितपुर क्षेत्र नम्बर–२ को प्रदेशसभा (१) मा माओवादी केन्द्रका उम्मेदवार हरि दाहालले पनि पराजित हुनुभएको थियो ।

उहाँहरुको हारको नैतिक जिम्मेवारी लिंदै माओवादी केन्द्रका ललितपुर जिल्ला संयोजक कट्टेल र सचिव पुलामीले पार्टीको बागमती प्रदेश कार्यालयमा राजीनामा बुझाएको स्रोतले बतायो ।

कट्टेल स्थानीय तह निर्वाचनमा महालक्ष्मी नगरपालिकाको मेयर उम्मेदवारसमेत हुनुहुन्थ्यो । तर उहाँ एमाले उम्मेदवार हरिगोविन्द श्रेष्ठसँग पराजित हुनुभएको थियो ।

Back to top button