रामचन्द्र पौडेल र माधव नेपालबीच आज भेटवार्ता

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलबीच आज बिहान भेटवार्ता भएको छ । प्रधानमन्त्री पदमा दावी गर्दै आउनुभएका पौडेल आज बिहान नेपाललाई भेट्न उहाँकै निवासमा पुग्नुभएको थियो ।

नेता नेपालले पनि प्रधानमन्त्रीमा पौडेलको दाबी स्वाभाविक हुने बताउनुभएको पौडेलका स्वकीय सचिव चिरञ्जीवी अधिकारीले जानकारी दिनुभयो । नेता नेपालले अहिलेको सत्ता गठबन्धन कायम राख्नुपर्नेमा पनि जोड दिनुभएको अधिकारीले बताउनुभयो ।

नेपालको भनाइ उद्धृत गर्दै अधिकारीले भन्नुभयो, ‘तपाईं गठन्धनको नेता पनि हो, गठबन्धन बनाउन तपाईंले दुःख गर्नु भएको पनि छ । यसपटक तपाईं प्रधानमन्त्री हुन पाउनुपर्छ भन्नेमा हाम्रो पार्टी पनि सकारात्मक छ भनेर माधव नेपालले भन्नुभयो ।’

कांग्रेसमा हालका प्रधानमन्त्री शेरबहादुर देउवा, महामन्त्री गगन थापा र डा. शेखर कोइरालालगायत पनि प्रधानमन्त्रीको दाबेदार हुनुहुन्छ ।

Back to top button