जहदामा बाम्फोकले हानेर श्रीमानको हत्या

विराटनगर । मोरङको जहदा गाउँपालिका–१ भुटाहामा एकजना महिलाले बाम्फोक (दाउ)ले हानेर श्रीमानको हत्या गरेकी छन्। घरायसी विवादमा ३५ वर्षीया दवानीदेवी सरबरियाले ४२ वर्षीय श्रीमान सन्तोष सरबरियाको हत्या गरेको प्रहरीले जनाएको छ।

दवानीदेवीले बाम्फोकले घाँटी र टाउकोमा प्रहार गरेर श्रीमानको हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी शान्तिराज कोइरालाले जानकारी दिनुभयो।

उहाँका अनुसार धारिलो हतियारले घाँटी र टाउको काटिएको तथा बोल्न नसक्ने अवस्थामा घरभित्रै शनिबार राति ११ः२० बजेतिर सन्तोष फेला परेका थिए। गम्भीर अवस्थाका उनलाई उद्धार गरेर उपचारका लागि विराटनगरको कोसी अस्पताल ल्याइएको थियो। उपचारका क्रममा राति नै मृत्यु भएको थियो ।

घटना शंकास्पद देखिएपछि प्रहरीले श्रीमती दवानीदेवीलाई नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको थियो। प्रहरीका अनुसार मदिराको नशामा आएर श्रीमानले झगडा गर्न थालेपछि सहन नसकेर हतियारले हानेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

स्थानीयका अनुसार मादक पदार्थ सेवन (मापसे) गरेर पति–पत्नीबीच सधैँ झैझगडा हुने गरेको थियो। मृतकका १४ वर्ष मुनिका ३ सन्तान छन्। २ छोरा र १ छोरी रहेको प्रहरीले जनाएको छ।

श्रीमानको हत्यामा संलग्न दवानीदेवीलाई घटनामा प्रयोग गरिएको हतियारसहित प्रहरीले पक्राउ गरेको छ। उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउन आज अदालतबाट म्याद थप गरेर घटना अनुसन्धानको बाँकी प्रक्रिया अघि बढाइएको एसपी कोइरालाले बताउनुभयो।

एसपी कोइरालाका अनुसार हत्यामा दवानीदेवी मात्रै कि, अरू पनि संलग्न छन् भन्ने कुरा अनुसन्धानपछि पत्ता लाग्ने छ।

Back to top button