सेयर बजारमा दोहोरो अंकको गिरावट, कारोबार १ अर्बमा सीमित

काठमाडौं । सेयर कारोबारको दोस्रो दिन आज नेप्से परिसूचक दोहोरो अंकले घटेको छ। नेप्से १५ दशमलव ६१ अंकले ओरालो लागेर १९५० दशमलव ३७ विन्दुमा अडिएको छ। सेन्सेटिभ इन्डेक्स ३ दशमलव ६५ अंकले घटेर ३८२ दशमलव ६१ विन्दुमा पुगेको छ।

नेप्से ओरालो लागेसँगै हिजोको तुलनामा आज सेयर कारोबार घटेको छ। आज २२६ कम्पनीको ३७ लाख ६१ हजार २९९ कित्ता सेयर १ अर्ब ४९ करोड ४३ लाख ९४ हजार ६१३ रुपैयाँमा खरिदबिक्री भयो। अघिल्लो कारोबार दिन हिजो २ अर्ब २ करोड बढिको सेयर कारोबार भएको थियो।

सेयर बजार दोहोरो अंकले ओरालो लाग्दा कुनै पनि कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेन। खप्तड लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य ८ दशमलव १८ प्रतिशतले बढ्दा गरिमा डिवेन्चरको सूचक ६ दशमलव ११ प्रतिशतले बढ्यो।

कारोबार रकमका आधारमा यसदिन हिमालयन डिस्टीलरी शीर्षस्थानमा रह्यो। सो कम्पनीको १६ करोड ४६ लाख ४२ हजार रुपैयाँ बराबरको सेयर कारोबार भयो।

नविल बैंक ७ करोड २४ लाख र शिवम् सिमेन्ट ६ करोड १६ लाख मूल्य बराबरको सेयर कारोबार गरी क्रमशः दोस्रो र तेस्रो स्थानमा रहे।कारोबारमा आएका १३ समूहमध्ये ११ को सूचक घट्यो भने २ को बढ्यो।

पाँच कम्पनीको सेयर मूल्य १ प्रतिशत बढिले घट्यो। डेभलपमेन्ट बैंक, फाइनान्स,हाइड्रोपावर, मनुफ्याक्चरी एन्ड प्रोसेसिङ र अदर्श समूहको सूचक १ प्रतिशत बढिले घटेको हो।

११ समूहको सूचक ओरालो लाग्दा म्युचुअल फन्ड र ट्रेडिङको सूचक क्रमशः ० दशमलव २४ र ० दशमलव १६ प्रतिशतले उकालो लाग्यो।

Back to top button