सुनसरी–४ मा मतगणना सुरु

सुनसरी । ३ दिनदेखि रोकिएको सुनसरी–४ को मतगणना सुरु भएको छ। निर्वाचन आयोगले मतगणना गर्न मुख्य निर्वाचन अधिकृतको कार्यालय सुनसरीलाई निर्देशन दिएपछि सर्वदलीय बैठक बसेर मतगणना सुरु गरिएको हो।

सबै राजनीतिक दलहरूका प्रतिनिधि, प्रतिस्पर्धामा रहेका उम्मेदवारलाई सहमति गराई मतगणना थालिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिनुभएको छ ।

मतगणनामा खटिएका कर्मचारीले ६ सय ६ मत एमाले उम्मेदवार जगदीश कुसियतको गणना गरेको आरोप लगाउँदै कांग्रेसले विरोध गरेपछि मतगणना रोकिएको थियो।

यस क्षेत्रमा एमालेका कुसियत र सञ्चारमन्त्री समेत रहनुभएका कांग्रेसका ज्ञानेन्द्र कार्की चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ। अहिलेसम्म गरिएको मतगणनामा कांग्रेसका कार्कीले २३ हजार ४ सय ३९ मत र एमालेका कुसियतले २३ हजार ३ सय ४१ मत प्राप्त गर्नुभएको छ । कार्की ९८ मतले अगाडि हुनुहुन्छ। ६० हजार मतगणना सम्पन्न भएको र २१ हजार मतगणना गर्न बाँकी रहेको बताइएको छ।

यस्तै, सुनसरी–३ को मतगणना अन्तिम चरणमा पुगेको छ। एमालेकी भगवती चौधरी विजय नजिक हुनुहुन्छ। २०४८ सालदेखि लगातार विजय हासिल गर्दै आउनुभएका कांग्रेस नेता तथा पूर्व–उपप्रधानमन्त्री विजय गच्छदारको विजय यात्रामा पूर्णविराम लाग्ने भएको छ।

Back to top button