आज ३ अंकले बढ्यो नेप्से, कारोबार १ अर्ब भन्दा कम

काठमाडौं । साताको तेस्रो कारोबार दिन आज सेयर बजारमा एकल अंकको सामान्य सुधार भएको छ । आज बजार परिसूचक नेप्से २ दशमलव ९९ अंक (० दशमलव १५ प्रतिशत) ले वृद्धि भएर १९५३ दशमलव ३५ अंकमा बन्द भएको छ ।

गत बिहीबार र आइतबार लगातार दुई दिन बढेको नेप्से सोमबार भने दोहोरो अंकको गिरावट भएको थियो । मंगलबार नेप्सेमा सामान्य वृद्धि भएपनि बैंकिङ सहित होटल तथा पर्यटन, उत्पादनमुलक, लगानी, निर्जीवन बीमा र ब्यापार उपसूचकमा गिरावट भएको छ ।

दिनभरजसो बजार परिसूचकमा उतारचढाव भएपनि कारोबार रकम भने मंगलबार घटेको छ । आइतबार २ अर्ब नाघेको कारोबार रकम सोमबार पनि करिब डेढ अर्ब रहेको थियो ।

तर, आज मंगलबार भने कारोबार रकम १ अर्ब पनि पुग्न सकेन । मंगलबार नेप्सेमा २५ लाख ८९ हजार ९९७ कित्ता सेयर किनबेच हुँदा ९५ करोड ७० लाख ६० हजारको कारोबार भएको छ ।

जसमध्ये हिमालयन डिस्टिलरीको सर्वाधिक ९ करोड ७२ लाख ७५ हजारको कारोबार हुँदा नबिल बैंकको ४ करोड ३१ लाख ६२ हजार र शिवम् सिमेन्टको ४ करोड २२ लाख ५ हजारको कारोबार भएको छ । मंगलबार नेप्सेमा १९६ कम्पनीको सेयर कारोबार हुँदा १२० कम्पनीको सेयर मूल्य बढेको छ ।

त्यस्तै ६७ कम्पनीको सेयर मूल्यमा गिरावट भएको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर छ । मंगलबार कारोबार भएकामध्ये धौलागिरि लघुवित्तको सेयर मूल्य ६।१० प्रतिशतले वृद्धि हुँदा एनसीसी बैंकको सेयर मूल्य ५ दशमलव ०५ प्रतिशत र एनआईसी एशिया सेलेक्ट फण्डको इकाइ मूल्य ४ दशमलव १८ प्रतिशतले बढेको छ ।

यता एनआईसी एशिया ब्यालेन्स फण्डको इकाइ मूल्य सर्वाधिक ४ दशमलव ६० प्रतिशतले गिरावट हुँदा ग्लोबल आईएमई ब्यालेन्स फण्ड १ को इकाईमूल्य ३ दशमलव ६८ प्रतिशत र नेपाल एसबिआई बैंकको सेयर मूल्य ३ दशमलव ६३ प्रतिशतले गिरावट भएको छ ।

Back to top button