
काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बाम गठबन्धनको सरकार बन्ने कुनै सम्भावना नरहेको बताउनुभएको छ ।
आज पार्टी केन्द्रीय कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै उहाँले भन्नुभयो,‘मैले त्यस्तो सम्भवाना देखिरहेको छैन ।’
उहाँले वर्तमान गठबन्धन दलहरुसँगको सहकार्यलाई अगाडि बढाउने समेत बताउनुभयो। ‘गठबन्धन दलहरुसँगको जुन सहकार्य छ, त्यसलाई अगाडि बढाएर लानुपर्छ भन्ने हामीले ठानेका छौं,’ नेपालले भन्नुभयो, ं‘बाँकी कुरा राजनीतिक घटनाक्रमसँगसँगै तय गर्ने छौँ ।’
गठबन्धनको सरकार बन्ने, नबन्ने कुरा पनि सम्पूर्ण चुनावी परिणाम आएपछि प्रष्ट हुने नेपालले बताउनुभयो। ‘अहिले मतदान नै हुन बाँकी छ,’ उहाँले भन्नुभयो, ‘सबै आइसकेपछि एउटा ‘पिक्चर क्लियर’ हुन्छ । त्यसपछि सबैले आ–आफ्नो धारणा बनाउँछन् । त्यस क्रममा पनि हामीले आफ्नो धारणा तय गर्छौं।’